नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं सो पार्टीको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले आफ्ना सांसदहरुबीच आफूहरुलाई नेपाली कांग्रेसले ‘अझै दुःख दिन सक्ने’ ब्रिफिङ गरेका छन् ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनसम्म अनशन बसेका डा. गोविन्द केसीको हड्ताल टुंग्याउन निर्णायक भूमिका खेलेका नेम्बाङले शुक्रबारको संसीदय दलको बैठकमा त्यस्तो ‘ब्रिफिङ’ गरेका हुन् । केसीको अनशनको निहुँमा दुवै सदन अवरुद्ध गरेको कांग्रेसले आफैंले प्रस्तुत गरेको विरोधको सूचना समेत प्रस्तुत गर्न नदिएर सदनलाई अप्ठ्यारो पारेको संसदीय दलको बैठकमा बताए ।
‘गोविन्द केसीसँग सहमति भइसकेपछि दुवै सदनको अवरोध हट्नुपर्ने हो तर कांग्रेसको भर छैन’– नेम्बाङले सांसदहरुलाई भने । कांग्रेसले सदन र सडक दुवै अवरुद्ध पारेर सरकारलाई अप्ठ्यारो पार्न खोजेको उनको भनाइ थियो ।
दलका नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीसँगको सातबुँदे सहमतिको छोटकरीमा बिफ्रिङ गर्दै सहमतिको मर्म र भावनाअनुरूपै विधेयक अघि बढाउन सांसदहरुलाई निर्देशन दिएको जानकारी सो पार्टीका अर्का नेता एवं प्रमुख सचेतक देवप्रसाद गुरूङले बैठकपछि सञ्चारकर्मीलाई दिए ।