रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ । ठाडो खोलाको भल–पानीले पक्की पुलको जगमा क्षति पुर्याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारी साधनलाई घट्टेखोलामा रोक लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार जोखिम न्यूनीकरण गर्न सवारी साधनमा रोक लगाई आइतबारदेखि प्राविधिकद्वारा अध्ययन सुरु गरिएको छ । शुक्रबारको अविरल वर्षाले घट्टेखोलामा पानीको बहाव व्यापक बढेपछि दक्षिणतर्फको पुलको जगमा क्षति पुर्याएको स्थानीयवासीले बताए ।
सवारी साधन नगुडेपछि भन्सार राजश्वमा दैनिक १ करोड रुपैयाँ घाटा हुन गएको भन्सार कार्यालयले जनाएको छ । चीन सरकारद्वारा निर्माण गरिएको उक्त पुल क्षतिग्रस्त भएको स्थानमा सडक विभागका प्रतिनिधिले जगको गहिराइ कति छ भनी चिनियाँ प्राविधिकसँग पनि समन्वय गरी ५ दिनभित्र गल्छी–रसुवागढी राजमार्गको सिधा यातायात सञ्चालन गर्ने लक्ष्य लिएको प्रजिअ पौडेलले बताए ।