नेपाली युवा श्रमिकले विदेशमा सुरक्षित ढंगले काम गर्ने वातावरण बनाउन र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न केही समयका लागि मेलेसियामा रोजगारीका लागि पठाउन रोक लगाइएको श्रममन्त्री गोकर्ण विष्टले बताएका छन् ।
मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विगतमा नेपालबाट कामदार पठाउँदा भएका विसंगति र विकृति सुधार गर्न मलेसिया सरकारले सुझाव दिएकाले अब दुई देशबीच सहमति भएपछि मात्र नेपाली श्रमिकलाई रोजगारीका लागि पठाइने उनले बताए ।
दशकौंदेखि वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न केही समय लाग्ने बताउँदै वर्तमान सरकारले विदेशमा काम गर्ने नेपाली युवा नठगिऊन् भन्ने उद्देश्यले कार्य गरिरहेको मन्त्री विष्टले प्रष्ट्याउन खोजे । वैदेशिक रोजगारीमा देखिएका विभिन्न समस्या समाधान गर्न सरकार कटिबद्ध रहेको बताउँदै शिक्षा, रोजगारी, स्वास्थ्य, आवासजस्ता जनताका मौलिक अधिकार संरक्षणका लागि सरकारले कानुन निर्माण गर्ने उनले बताए ।
वर्तमान अवस्थामा विश्वका १ सय ७१ राष्ट्रमा नेपाली युवा कामका लागि जाने गरेको बताउँदै ती राष्ट्रमा श्रमिकका हक–अधिकार व्यवस्थित र सुरक्षित बनाउन सरकारले पहल गर्ने मन्त्री विष्टले बताए ।