newskoseli.Com

केन्द्रीय कारागारका ४ सय कैदी–बन्दी बिरामी

 

काठमाडौंको जगन्नाथ देवलमा रहेको केन्द्रीय कारागारका चार सयभन्दा बढी कैदी–बन्दी बिरामी भएका छन् ।

केन्द्रीय कारागार कार्यालयले दिएको जानकारी अनुसार कैदी–बन्दीमा छाला, मधुमेह, जन्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुन्निनेलगायतका रोग देखापरेका छन् । उपचारका लागि दैनिक १ सय कैदी–बन्दीलाई उपत्यकाका विभिन्न अस्पतालमा पठाउँदै आएको बताउँछन् कारागार कार्यालय जगन्नाथ देवलका प्रमुख एवं उपसचिव वेदनिधि अधिकारी ।

‘सामान्य प्रकृतिका रोगको उपचार कारागारको आफ्नै अस्पतालमा गरिन्छ, गम्भीर प्रकृतिका रोगको उपचारका लागि उपत्यकाका विभिन्न अस्पतालमा पठाउने गरेका छौं’– उनले भने । कारागार कार्यालयका अनुसार क्षमताभन्दा बढी भएका कारण पनि अधिकांश कैदी–बन्दी बिरामी परेका हुन् ।

१ सय ४ वर्ष पुरानो केन्द्रीय कारागारभित्रका ३ वटा भवनमा हाल २ हजार ८ सय ३ कैदीबन्दी तथा ४ नाबालक रहेका छन् । केन्द्रीय कारागारमा १ हजार ६ सय ९५, भद्रगोल कारागारमा ७ सय ९० र महिला कारागारमा ३ सय १८ कैदी–बन्दी छन् ।

कारागार व्यवस्थापन विभागका अनुसार हाल नेपालका ७२ जिल्लाका ७४ कारागारमा १८ हजारभन्दा बढी कैदी–बन्दी रहेका छन् । पुरानो भौतिक संरचना र अत्यधिक संख्या भएकाले कारागार कार्यालयले हाल दैनिक ४ पटक कैदी–बन्दीको हाजिर गर्दै आएको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर