newskoseli.Com

सवारी साधनविनै पनि यातायात कम्पनी खोल्न सकिने

 

यातायात व्यवस्था विभागले सवारी साधनबिनै पनि सार्वजनिक यातायात फर्म वा कम्पनी खोली करार सम्झौतामा साधन लिएर सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा यस्तो निर्णय गरिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले जानकारी दिएका छन् । कम्पनीमा पञ्जीकरण गर्न यसअघि कम्तिमा पाँच वटा सवारी साधन हुनैपर्ने व्यवस्था रहेकामा त्यसले समस्या हुने गुनासो आएपछि विभागले यस्तो निर्णय गरेको हो ।

विभागले निर्णय कार्यान्वयनका लागि शुक्रबार नै १४ वटै अञ्चल यातायात व्यवस्था कार्यालयलाई परिपत्र गरेको छ । कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गरेको भए पनि औद्योगिक व्यवसाय ऐनअनुसार उद्योग विभागमा दर्ता गरेका कम्पनीलाई विभाग र यातायात व्यवस्था कार्यालयमा पञ्जीकरण गरिने महानिर्देशक लावण्यकुमार ढकालले जानकारी दिए ।

‘उद्योग विभागमा सेवा उद्योगका रुपमा यातायात कम्पनी दर्ता हुन्छ, सेवा उद्योगका रुपमा दर्ता भएका कम्पनी विभागमा पञ्जीकरण हुन्छन्, यसरी दर्ता गर्न अब पाँच वटा सवारी चाहिँदैन, सवारी नै नहुनेले पनि दर्ता गरेर करारमा सवारी लिएर सञ्चालन गर्न सक्छन्’– उनले भने । यसरी दर्ता भएका कम्पनीले प्रत्येक वर्ष आय–व्यय विवरण लेखापरीक्षण गरी बुझाउनुपर्ने व्यवस्था छ ।

कम्पनी अन्तर्गत कति सवारी र कर्मचारी छन् भन्ने जानकारी पनि वार्षिक रुपमा उद्योग र यातायात विभागलाई गराउनुपर्छ । विभागले एक महिनादेखि १४ वटै यातायात व्यवस्था कार्यालयलाई कम्पनीमा दर्ता भएकाको पञ्जीकरण गर्ने जिम्मेवारी दिएको थियो । पुस मसान्तसम्ममा पुराना सबै सवारी कम्पनीमा दर्ता भई यातायात विभागमा दर्ता भइसक्नु पर्नेछ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर