newskoseli.Com

छाउपडी नछाड्नेलाई रोकियाे सेवा-सुविधा…

शुक्लाफाँटा नगरपालिका वडा नं. ८ ले छाउपडी प्रथा अँगाल्नेलाई वडाबाट प्रदान गरिने सेवा-सुविधाबाट वञ्चित गर्ने निर्णय गरेको छ ।

छाउपडी प्रथा छाड्ने प्रतिबद्धता गरे मात्रै वडा कार्यालयबाट सेवा दिइने गरिएको छ ।

महिनावारी हुँदा अलग्गै गोठमा बस्नुपर्ने, पाँच दिनसम्म छुनु नहुने, पानीको धारा छुनु नहुने, पोषिला खानेकुरा खानु नहुनेजस्ता अन्धविश्वास नहटेपछि सुविधामा रोक लगाउनु परेको वडाध्यक्ष बहादुर महराले बताए ।

‘वडामा सेवा लिन आएका सेवाग्राहीलाई छाउपडी प्रथा मान्ने गरे-नगरेको सोधपुछ गरेपछि मात्रै सेवा दिने व्यवस्था गरेका छौं’- उनले भने । छाउपडीका कारण महिला अलग्गै गोठमा राखिँदा बलात्कृत हुने, सर्प र जंगली जनावरको आक्रमणमा पर्ने तथा विभिन्न रोगको संक्रमण बढ्ने गरेको छ ।

वर्षौंदेखि कुरीतिका रुपमा चल्दै आएको यस प्रथालाई रोक्न खोजे पनि लुकीछिपी कायमै रहेकाले सेवामा रोक लगाउनु परेको अध्यक्ष महराले बताए । छाउपडी प्रथा अँगाल्नेलाई सेवा-सुविधामा रोक लगाउन थालेपछि हालसम्म एक दर्जनभन बढी व्यक्ति सेवाबाट बञ्चित भएको जानकारी उनले दिए ।

वडाले घरेलु हिंसा, बालविवाह, अनमेल विवाह गर्ने, लागूऔषधमा संलग्न, घरमा शौचालय नभएका, बालबालिकालाई पूर्ण खोप नलगाउने र बालबालिकालाई विद्यालय नपठाउनेलगायतका कार्यमा संलग्नले आफ्नो व्यवहारमा सुधार गर्ने प्रतिबद्धता नगर्दासम्म कुनै पनि सेवा-सुविधा दिने गरेको छैन ।

वडा कार्यालयले मदिरा बिक्रीवितरण, उत्पादन र सेवन गर्नेलाई एक सेवा-सुविधा नदिने नियम बनाई एक वर्ष अघिदेखि नै कार्यान्वयन गरिसकेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर