newskoseli.Com

पहिरोमा पुरिएर एकै परिवारका ४ सहित ५ को मृत्यु, ४ अझै बेपत्ता

 

जाजरकोटको सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरामा परी एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएको छ । पहिराले पुरिएका ५ जनाको शव निकालिएको छ भने ४ जना अझै बेपत्ता छन् । एक जनाको भने जीवितै उद्धार गरिएको छ ।

भेरी नगरपालिका– ६, गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ । उनकी श्रीमती २५ वर्षीया शीतला, उनकी छोरीहरू ९ वर्षीया भावना, ६ वर्षीया रञ्जना र ३ वर्षीया मनिषाको मृत्यु भएको छ । पहिराले पुरेको घरभित्रबाट उनीहरुको शव निकालिएको हो ।

उनीहरु सबै भेरी– ३ खलंगा, ठाँटीस्थित तीर्थराज बोहराको घरमा भाडामा बस्दै आएका थिए । घरमूली तीर्थराज बोहराकी ७ वर्षीया छोरी नग्माको पनि मृत्यु भएको छ । जीवितै उद्धार गरिएका लुहारको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । छाती, टाउको र खुट्टामा चोट लागेका उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

सोही ठाउँमा गोपाल सुनारको घर पहिराले पुर्दा त्यहाँ ४ बालबालिका अझै हराइरहेका छन् । ती बालबालिकालाई घरसँगै पहिराले पुरेको अनुमान गरिएको छ । प्रहरीका अनुसार कुशे– ६, ढिमेका १३ वर्षीय नरेन्द्र परियार र ११ वर्षीय नवीन परियार तथा नलगाड– १, डाँडागाउँका ८ वर्षीय गोविन्द परियार र १० वर्षीय दर्शक परियार हराइरहेका छन् ।

पानी परिरहेकाले उद्धारमा समस्या भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उद्धार र उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिँदै घाइतेको उपचारका लागि सुर्खेतबाट हेलिकप्टर जाजरकोट पठाउन लागिएको मन्त्री बस्नेतले बताएका छन् । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर