newskoseli.Com

कसरी प्रस्तुत भए नयाँ कानुनमन्त्री ढकाल ? यसरी गरे सबैले परिचयको आदान–प्रदान…

 

‘नमस्कार ! म भानुभक्त ढकाल । मोरङ क्षेत्र नं. ३ बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधित्व गर्छु । म यस समिति (कानुन, न्याय तथा मानवअधिकार समिति) को पदेन सदस्य ।’

‘कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पनि हुँ भन्नुपर्‍यो नि !’ बैठकस्थलबाट सुझाव आयो ।

नवनियुक्त मन्त्री ढकालले तत्काल जवाफ फर्काइदिए– ‘कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको मन्त्री पदको जिम्मेवारी सम्हालेको छु ।’ बैठकमा सहभागी सबै सांसद हाँसे । शुक्रबारदेखि मात्रै उनले सो मन्त्रालयको कार्यभार सम्हालेका थिए ।

‘म बालकृष्ण खाँण, नेपाली कांग्रेस पार्टीको प्रतिनिधित्व गर्छु ।’

‘हैन माननीयज्यू ! पार्टीको प्रमुख सचेतक पनि हुँ भन्नुपर्‍यो नि !’

बैठक कक्षबाट अर्को सुझाव आएकाले उनले जवाफ दिए– ‘मैले प्रमुख सचेतकका रुपमा जिम्मेवारी निर्वाह गरिरहेको छु ।’

‘म देवप्रसाद गुरुङ, लमजुङ जिल्लाबाट नेकपाको प्रतिनिधित्व गर्छु ।’

उनले यति परिचय दिन मात्र के भ्याएका थिए, सुुझाव आइहाल्यो– ‘हैन माननीयज्यू, पार्टीको प्रमुख सचेतक भनेको खोर्इ त ?’ हाँसोको फोहरा छुठ्यो ।

‘म सुवासचन्द्र नेम्बाङ, इलाम जिल्लाबाट नेकपाको प्रतिनिधित्व गर्छु ।’

खोई त पूर्वसभामुख भन्नुभएको ? फेरि पनि बैठकमा अर्को सुझाव आइहाल्यो । माननीयज्यूहरुलाई यति भनिरहनु पर्ला र ? उनले शिष्ट रुपमा जवाफ फर्काएपछि पुनः सबै हाँसे ।

‘म लक्ष्मणलाल कर्ण, पर्सा– ४ बाट राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रतिनिधित्व गर्छु ।’

कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा यसरी समितिका सदस्यले एकापसमा परिचय आदान–प्रदान गरे । ज्येष्ठ सदस्य कर्णले नै समितिको बैठकको अध्यक्षता गरे ।

समितिमा सत्ता र प्रमुख प्रतिपक्षी दुवै तर्फका प्रमुख सचेतक छन् । विशेषगरी कानुनका ज्ञाता समेत सदस्य रहेको सो समितिमा २३ जना सदस्य छन् ।

करिव ५ महिनापछि गठन भएका प्रतिनिधिसभा अन्तर्गतका १० संसदीय समिति अर्थात् ‘मिनी पार्लियामेन्ट’ को पहिलो दिनको बैठकमा सांसदले एकापसमा परिचय आदानप्रदान गरेका हुन् । संघीय संसद् सचिवालयका कर्मचारीले समितिको बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्यलाई सहजीकरण गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर