newskoseli.Com

कोरिया जाने नेपाली कामदारको हवाईभाडा घट्यो, ईपीएस प्रणालीको यस्तो छ ‘अपडेट’…

 

रोजगार अनुमति प्रणाली (र्इपीएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटवापत तिर्नुपर्ने रकम घटेको छ । नेपालबाट कोरिया जाने प्रत्येक नेपाली कामदारले हवाई भाडावापत तिर्ने रकम ५ सय ३० अमेरिकन डलरबाट ४ सय ११ अमेरिकन डलरमा झरेको वैदेशिक रोजगार विभाग, र्इपीएस कोरिया शाखाले जनाएको छ ।

अब नेपाली कामदारले कोरिया जाँदा हवाई टिकटवापत ४ सय ११ अमेरिकी डलर अर्थात ४५ हजार २ सय ९२ रुपैयाँ मात्रै तिर्नु पर्नेछ । र्इपीएस प्रणालीबाट दक्षिण कोरिया जाने कामदारले तिर्ने हवाई भाडा सार्वजनिक खरिद ऐनअनुसार पहिलो पटक विद्युतीय बोलपत्रको माध्यमबाट प्रतिस्पर्धा गराइएको शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

बोलपत्रमा पाँच ट्राभल्स कम्पनीले सहभागिता जनाएका थिए । सिलिङ्गस ट्राभल्स एण्ड टुर्स प्रालिले नेपाली कामदारलाई सबैभन्दा कम मूल्यमा हवाई टिकट उपलब्ध गराउने बोलकबोलसहित आइतबार टेण्डर पाएको हो । सिलिङ्गस ट्राभल्सले अब कोरिया जाने नेपाली कामदारलाई ४५ हजार २ सय ९२ रुपैयाँमा हवाई टिकट उपलब्ध गराउनेछ ।

नेपालबाट सिधै दक्षिण कोरियाको सियोलसम्मको हवाई टिकट उपलब्ध गराउनुपर्ने सम्झौता उक्त ट्राभल्ससँग गरिएको छ । कोरिया जाने नेपाली कामदारलाई काठमाडौं–सियोल सिधा उडान नभए छ घन्टाभन्दा कम ट्रान्जिट भएको हवाई टिकट उपलब्ध गराउनुपर्ने प्रावधान राखिएको छ ।

प्रतिस्पर्धाका माध्ययमबाट हवाईभाडा निर्धारण गर्दा कोरिया जाने नेपाली कामदारले तिर्ने रकममा वार्षिक १० करोड रुपैयाँभन्दा बढी बचत हुने निर्देशक खनालले बताए । उनले भने– ‘विदेश जाने कामदारले तिर्ने रकम र लागतमा कम गराई नेपाली कामदारलक्षित कार्यक्रम ल्याउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिअनुरुप हवाई भाडाका लागि टेण्डर गरिएको हो ।’

हाल वार्षिक करिव ८ हजारको संख्यामा नेपाली कामदार रोजगारीका लागि दक्षिण कोरिया जाने गरेका छन् । सन् २००८ देखि र्इपीएस प्रणाली लागू भएसँगै दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई भाडावापत ५ सय ४१ अमेरिकी डलर र २०७३ पुसदेखि ५२९.७५ अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ ५८ हजार २ सय ७२ सम्बन्धित ट्राभल्स एजेन्सीलाई बुझाउँदै आएका थिए ।

नेपाल सरकार र दक्षिण कोरियाबीच भएको समझदारी अनुसार सन् २००८ देखि रोजगार अनुमति प्रणाली (र्इपीएस) अन्तर्गत रोजगारीका लागि नेपाली कामदार दक्षिण कोरिया जान थालेका हुन् । कोरियामा कृषि क्षेत्रमा काम गर्ने नेपाली कामदारले अन्य देशको कामदारले भन्दा उत्कृष्ट काम गर्दै आइरहेका छन् । औद्यौगिक क्षेत्रमा काम गर्ने नेपाली कामदारले पनि अन्य मुलुकका कामदारको तुलनामा इमानदार काम गर्दै आएका छन् । हाल नेपाललगायत १६ मुलुकबाट वार्षिक करिव ५० हजार कामदार र्इपीएस प्रणालीमार्फत दक्षिण कोरिया जाने गरेका छन् ।

र्इपीएसमार्फत कोरिया जाने नेपालीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । खाडी मुलुकमा जस्तो कामदारले अनावश्यक झन्झट व्यहोर्नु नपर्ने र आकर्षक तलब–सुविधाका कारण पनि कोरिया नेपाली कामदारको रोजाइमा पर्दै आएको छ । अहिले नेपाली कामदारले मासिक १ लाख ५० हजारदेखि २ लाख रुपैयाँसम्म पारिश्रमिक पाउँदै आएका छन् ।

सुरक्षित गन्तव्य, कामको सुनिश्चितता, कामदार र रोजगारदाताको कार्यसम्झौता, वैधानिकता र अधिकार स्थापित हुने, काम गर्ने अवधिको निश्चितता (४ वर्ष १० महिना), पुनः कोरिया जान सकिने, तेस्रो पक्ष र दलालको गुन्जायस नहुनेलगायतका कारणबाट कोरिया जान इच्छुक नेपालीको संख्या बढ्दै गएको र्इपीएस कोरिया शाखाका निर्देशक खनालले बताए ।

र्इपीएसमार्फत नेपाली कामदारलाई कोरिया लैजाने कोटा र नेपाली कामदारले पाउने पारिश्रमिक बढाउन पनि पहल भइरहेको उनले बताए । सन् २००८ देखि गत जेठ मसान्तसम्म र्इपीएसमार्फत ५४ हजार ३ सय ६३ नेपाली कामदार दक्षिण कोरिया गएका छन्, जसमा महिला ३ हजार ३ सय ३८ र पुरुष ५१ हजार २५ जना रहेका छन् ।

सन् २०१८ को भाषा परीक्षाबाट ७ हजार ९ सय ९८ कामदार कोरिया जाँदैछन् । यसबाहेक कोरियाबाट फर्केका नेपाली कामदार कम्प्युटरमा आधारित परीक्षाबाट समेत कोरिया जान सक्ने र्इपीएस कोरिया शाखाले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर