newskoseli.Com

रोकिए २३२ वटा बालविवाह…

आर्थिक वर्ष २०७४/०७५ मा जिल्लाभर भएका बालविवाहमध्ये जानकारीमा आएका २ सय ३२ बालविवाहका घटना रोकिएका छन् ।

स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, महिला विकास कार्यालय, विभिन्न अधिकारवादी संघ–संस्थाको पहलमा बालविवाहका घटना रोकिएका हुन् । प्रहरीको जानकारीमा र अधिकारवादी संघ–संस्थासम्म आएका घटनामध्ये धेरै बालविवाहका घटना आपसी समझदारीकै आधारमा उमेर नपुग्ने बेलासम्म आ–आफ्नो घरमै बस्ने सहमतिमा छाडिन्छ ।

छाडिएकामध्ये कतिपय जोडीले भागेर पुनः विवाह गरेको घटना पनि समाजमा धेरै हुन थालेपछि जिल्लालाई बालविवाहमुक्त घोषणा गर्नका लागि स्थानीय तहले नीतिमै उल्लेख गरेर कार्ययोजना निर्माण र जनचेतनामूलक गतिविधि बढाउन थालेका छन् । गत वर्ष नै जिल्लालाई बालविवाहमुक्त बनाउने भनी स्थानीय तह र जिम्मेवार निकायले सदरमुकाम दैलेख बजारमा भएको बृहत् कार्यक्रममा प्रतिबद्धता गरेसँगै अभियानले तीव्रता पाएको छ ।

पुरातन सोच र संस्कारका कारण अहिले पनि बालविवाहका घटना धेरै हुने गरेका छन् । विभिन्न विद्यालयमा निर्माण गरिएका बाल सञ्जालमा आवद्ध विद्यार्थीले उमेर नपुग्दै विवाह भएको थाहा पाए भने बाल हेल्पलाइनको नम्बर १०९८ मा फोन गरेर खबर गर्छन् । सोही आधारमा जिल्ला प्रहरी कार्यालयले मातहतका प्रहरीलाई खटाउने गरेकाले कतिपय बालविवाह रोकिएका छन् ।

जिल्लामा लामो समयदेखि अधिकार र पैरवीका क्षेत्रमा काम गर्दै आएको स्थानीय संस्था सामाजिक सेवा केन्द्रको ११औं लैङ्गिक तथा सामाजिक परीक्षणमा उपस्थित सहभागीले स्थानीय तह निर्माणसँगै अभियानको प्रभावकारिता बढ्नुपर्नेमा भने जत्तिको उपलब्धि हुन नसकेको भन्दै स्थानीय तहले गाउँ र नगरसभाबाटै स्पष्ट नीति निर्माण गरेर प्रचारप्रसार र कानुनी उपचारलाई कडार्इका साथ लागू गर्नुपर्ने सुझाव दिएका छन् ।

जिल्लाका गैरसरकारी निकायले स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढेमा महिला तथा बालबालिकाका क्षेत्रमा जस्तासुकै समस्याको समाधान गर्न नीति नै निर्माण गरेर जान सकिने नारायण नगरपालिकाकी उपप्रमुख सावित्री मल्लले बताइन् । सामाजिक कुसंस्कार हटाउन गैरसरकारी संस्थाको पहल महत्त्वपूर्ण रहेको भैरवी गाउँपालिकाकी उपाध्यक्ष पदमकुमारी विष्टले बताइन् ।

संस्थाले जिल्लाका ११ वटै स्थानीय तहसँग समन्वय गरी बालविवाह, छाउपडी, जातीय विभेद, महिला र बाल हिंसाजस्ता सामाजिक कुरीति न्यूनीकरण गर्न पहल गर्ने सोसेक नेपालकी अध्यक्ष मञ्जुकुमारी खड्काले बताइन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर