newskoseli.Com

इण्डोनेसिया पुगेर गृहमन्त्रीले भने– ‘मानवतस्करीलाई गम्भीर रुपमा लिइएको छ’

 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मानवतस्करी, मानव बेचबिखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीर रुपमा लिएको बताएका छन् ।

इण्डोनेसियाको बालीमा सोमबारदेखि जारी ‘मानवतस्करी, मानव बेचबिखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै गृहमन्त्री थापाले नेपालीहरू ठूलो संख्यामा वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यो विषयलाई आफूहरुले गम्भीर रुपमा लिएको बताए ।

दिगो मानव विकास, कानुनी शासन र नागरिक सुरक्षाका लागि मानवतस्करी र बेचबिखन बाधकका रुपमा देखा परिरहेको टिप्पणी उनले गरे । मानवतस्करी, मानव बेचबिखन र अन्तरदेशीय अपराधसम्बन्धी विषयमा राष्ट्रहरुबीच सूचना आदान–प्रदान र कानुन कार्यान्वयन गर्ने निकायबीच सहकार्य गर्न जारी सम्मेलनले सहजता प्रदान गर्ने विश्वास गृहमन्त्री थापाले व्यक्त गरे ।

विभिन्न देशमा रहेका आप्रवासी कामदारको हितका लागि समेत यो सम्मेलनले दिशानिर्देश गर्ने आशा उनले व्यक्त गरे । मंगलबारै सम्पन्न हुने सातौं मन्त्रीस्तरीय सम्मेलनमा विभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारी सहभागी छन् । ‘बाली प्रोसेस’ का नाममा सन् २००२ देखि यो सम्मेलनको आयोजना गर्न सुरु गरिएको हो ।

नेपालसहित चीन, भारत, अष्ट्रेलियालगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय एजेन्सी आर्इओएम, युएनएचसीआर र युएनओडीसी सम्मेलनको सदस्यका रुपमा छन् । गृह मन्त्रालयको चार सदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा गत आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए । गृहमन्त्री बादल साउन २३ मा नेपाल फर्कने कार्यक्रम छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर