newskoseli.Com

बालक अपहरण र हत्या : फुटबल खेलाडी बन्न चाहन्थे निशान तर अधुरै रह्यो चाहना, बिहीबार दाहसंस्कार…

 

‘आमा ! म एकछिन खेलेर आउँछु है’ भन्दै प्रायः फुटबल खेल्न जाने काठमाडौं महानगरपालिका– ३२, काँडाघारी टाउन प्लानिङस्थित चमेली खड्काका ११ वर्षीय छोरा निशान खड्काको फुटबल खेलाडी बन्ने सपना अधूरै रहन पुगेको छ ।

स्कुलमा पनि फुटबलमा नै रुचि राख्ने र घर आएपछि पनि प्रायः खेल्न जाने बालक निशान शनिबार र बिदाका दिन पनि फुटबल खेल्नै दौडन्थे । आइतबार अपराह्न पनि त्यस्तै नै भयो । मृतक निशानका मामा रामकाजी सापकोटाका अनुसार आइतबार पनि स्कुल छुटेर उनी करिव सवा ४ बजे सिधै आमा चमेलीले सञ्चालन गरेको खाजा पसलमा आए ।

किताबको झोला पसलभित्र राख्दै स्कुल पोशाक खोलेर विश्वकपका बेलामा किनेको अर्जेन्टिनाको टिसर्ट लगाएर आमाले दिएको खाजा खाए । त्यसपछि वैदेशिक रोजगारीमा मलेशिया गएका बाबु गणेश खड्काले फोन गर्छु भनेकाले बाबुसँग कुरा गर्न पाइने भो भनेर मख्ख थिए ।

निशान अपहरण भएको दिनमा मात्रै अपहरणकारी सिन्धुपाल्चोक कर्थलीका २३ वर्षीय अजय तामाङ र नुवाकोट सामरीका २४ वर्षीय गोपाल तामाङ तीन पटक पसलमा आएका थिए । घरमा रङ लगाउने काम गर्दै आएका ती दुवैले विगत तीन वर्षदेखि चमेलीकै खाजा पसलमा नियमित खाजा खाने गर्थे ।

उधारो खाजा खाने र कहिलेकाहीं रकम समेत सापटी चल्ने गरेको अपहरणकारीले चमेलीसँग लिएको ऋण समेत नतिरी उल्टै छोरा अपहरण गरेर हत्या गरेका छन् । त्यस दिन पनि छोराले कर गरेकाले चमेलीले छोरा निशान र अपहरणकारी गोपाललाई मोबाइल किन्न पठाइन् । निशानकै साइकलमा दुबै गए र १ हजार २ सय रुपैयाँमा मोबाइल किनेर ल्याए । गोपाल आफैंले मोबाइलमा सिम राखिदिए ।

त्यसपछि ‘खेल्न जान्छु है आमा’ भनेर निशान गए । ‘खेल्न जान्छु भनेर आमासँग बिदा लिएको त्यो क्षण नै उसको अन्तिम बिदाइ बन्नपुग्यो’– निशानका मामा सापकोटाले भने । छोरो खेल्न गएको केही क्षणपछि दुवै अपहरणकारी पनि पसलबाट निस्किए । सधैं साढे ७ बजेसम्म खेलेर घर फर्कने निशान त्यस दिन साढे ८ बजेसम्म पनि नफर्किएपछि आमाले छिमेकतिर खोजी गरिन् । छिमेकमा टिभी पो हेर्दै छ कि भनेर सोधीखोजी गर्दै गर्दा करिव ९ बजे चमेलीको नयाँ फोनमा घन्टी बज्यो ।

फोन उठाउने बित्तिकै अपहरणकारीले ‘तेरो छोरो हाम्रो कब्जामा छ, छोरो चाहिने भए ४० लाख ठीक पार्, प्रहरीलाई खबर गरिस् भने ठीक हुन्न’ भनेर फोन राखिदिएको चमेली बताउँछिन् । पछि पटक–पटक यताबाट फोन गर्दा पनि अपहरणकारीको फोन नउठेको र ‘स्विच अफ’ भएको खबर आपछि आत्तिएकी उनले छिमेकी र नजिकै रहेका माइतीलाई बोलाइन् ।

बच्चा अपहरण भएको हल्लाखल्ला भएपछि छिमेकीले प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गरिदिए । केही बेरमै काँडाघाडी प्रहरी बिटबाट प्रहरी आए त्यसको केही समयपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोली पनि आइपुग्यो । मृतक बालकका मामा भन्छन्– ‘पैसा दिन्छौं, कहाँ भेट्नेसम्म पनि भन्न पाइएन, पछि फोन नै नगरी भाञ्जाको हत्या गरे अपराधीले ।’

प्रहरीले विभिन्न टोली बनाएर खोजी कार्यलाई रातभरि तीव्रता दिएको बताउँदै उनी आफैं पनि राति ३ बजेसम्म एउटा टोलीमा संलग्न भएर भाञ्जाको खोजी गरेको सापकोटाले बताए ।

प्रहरीको अनुसन्धान अनुसार खाजाघरमा चमेलीले अपहरणकारीकै अगाडि मलेशियाबाट श्रीमानले पैसा पठाइदिएको सुनाएकी थिइन् । त्यही सुनेर फिरौती माग्न अपहरण गरेको र अपहरणपछि आफूहरु भाडामा बस्दै आएको मध्यपुरथिमि नगरपालिका– ७, नगदेश बुद्ध बिहारको तल श्याम लबटको घरमा लगेको अपहरणकारीले बताए ।

प्रहरीका अनुसार चिनजानकै व्यक्ति भएकाले अपहरणकारीसँग सजिलै उनीहरुको कोठामा पुगेका निशानकै अगाडि फिरौती रकम मागेपछि निशान कराएर चिच्याएपछि अपहरणको पोल खुल्ने डरले अपहरणकारीहरुले उनको हत्या गरे । हत्यापछि लबटकै निर्माणाधीन घरको डीपीसी छेउमा गाडेर उनीहरु फरार भए । खोजी गर्ने क्रममा सूर्यविनायक जंगलमा प्रहरीको गोली लागी दुवै अपहरणकारीको मृत्यु भयो ।

दुई छोरी र एक छोरालाई आमाको जिम्मा लगाएर मेलेशिया गएका गणेशले घटनाका बारेमा सोमबार राति मात्रै थाहा पाए । मलेशियामा सँगै बसेका छिमेकी भाइले घटना हिजो दिउँसै थाहा पाए पनि उनले भने राति मात्रै थाहा पाएपछि उनी मलेशियामै शोकमा डुबेका छन् । गत फागुनमा ४० दिनको बिदा लिएर नेपाल आएका गणेश चैत १३ मा मलेशिया फर्किएका हुन् ।

‘छोरासँगको उनको अन्तिम भेट चैत १३ का लागि नै लेखेको रहेछ’– आफन्तहरु भन्छन् । आउँदो बिहीबार १ः३० बजेको फ्लाइटमा गणेश मलेशियाबाट नेपाल आउने भएका छन् । उता स्थायी घर मेलम्ची नगरपालिका– ९, दोबाटो, रातामाटामा रहेका निशानका हजूरबुबा दुर्गाबहादुर खड्का र आफन्त पनि शोकमा डुबे । नातिको हत्याको खबरले हिजो दिउँसैदेखि हजूरबुबा निकै पीडामा रहेपछि मंगलबार मेलम्चीबाट काठमाडौं आइपुगेको परिवारका सदस्यले बताए ।

सोमबार राति चमेलीलाई माइतीघर लगिएको छ । चमेलीले होटल चलाउँदै आएको स्थानभन्दा केही माथि काँडाघारीमै बस्दै आएका माइतीमा पुगेपछि पनि चमेली र माइतीपक्ष शोकले रातभर जागै छन् । चमेलीका बुबा मीनप्रसाद सापकोटा आफैं सम्हालिन सकेका छैनन् । नातिको सपना अधुरै भो भन्दै आफैं रुँदै छोरीलाई सम्झाउने प्रयास गरिरहेका छन् । मंगलबार शव परीक्षण गर्नुपर्ने भएपछि परिवारका अधिकांश व्यक्ति र टोल–छिमेकका केही व्यक्ति शिक्षण अस्पताल पुगे ।

निशान कक्षा ६ मा पढ्दै आएको स्कुल हाइल्याण्ड इङलिस स्कुल पनि मंगलबार बन्द गरियो । आफ्नो स्कुलकै विद्यार्थीको अपहरण गरी हत्या गरिएको शोकमा स्कुल बन्द गरिएको प्रधानाध्यापक प्रल्हाद खनालले बताए । फुटबल खेल्न नै धेरै मन पराउने निशानले स्कुलमा पनि फुटबल खेलाडी बनेर देशको नाम राख्छु भन्ने गरेको खनाल सुनाउँ.छन् । निशान स्कुलमा कसैलाई नराम्रो व्यवहार नगर्ने, प्रायः सधैं स्कुल आउने, अनुशासित विद्यार्थी भएको बताउँदै उनको हत्याले सिंगो स्कुल परिवार शोकमा डुबेको उनले बताए ।

मृतक निशानका बाबु गणेश बिहीबार १ः३० बजेको फ्लाइटबाट नेपाल आएपछि सोही दिन नै बालकको दाहसंस्कार गरिने उनको परिवारले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर