newskoseli.Com

देउवा विदेश हिँडे, प्रधान न्यायाधीश र अख्तियार प्रमुख सिफारिस अर्को साता मात्रै

 

नयाँ प्रधान न्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको बैठक आगामी साता मात्रै बस्ने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्योपचारका लागि विदेश जान लागेकाले परिषद् बैठकको मिति पर सरेको हो ।

परिषदको बैठक बुधबारका लागि तय भएको थियो तर यो बैठक स्थगन भयो । परिषद् बैठक अर्को साता मात्रै बस्ने जानकारी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले दिएका छन् । राष्ट्रियसभाको बैठकपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा संवाददातासँग कुराकानी गर्दै मन्त्री ढकालले भने– ‘प्रतिपक्षी दलका नेता उपचार निम्ति सात दिनका लागि बाहिर जाने कुरा प्रधानमन्त्रीलाई जानकारी गराएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र प्रधान न्यायाधीश नियुक्तिमा ढिलाइ भएको हो ।’

अब परिषदको बैठक कांसका सभापति देउवा स्वदेश फर्केपछि मात्रै बस्नेछ । मन्त्री ढकालले भने– ‘केही संवैधानिक निकायका प्रमुख नभए पनि कायममुकायमले काम गरिरहनुभएको छ । संवैधानिक परिषदको अध्यक्षको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्र पठाइसक्नुभएको छ, प्रतिपक्षी दलका नेता स्वास्थ्योपचारका लागि विदेश जाने हुनाले सात दिन प्रतीक्षा गर्नुपर्ने भएको छ ।’

मौलिक हकसँग सम्बन्धित विषयका विधेयक संसदमा आउने क्रम आरम्भ भइसकेको जानकारी दिँदै मन्त्री ढकालले भने– ‘चार विधेयक दर्ता भइसकेका छन्, क्रमशः दिनानुदिन प्रक्रियामा लगेर असोज ३ सम्ममा मौलिक हकसँग सम्बन्धित कानुन निर्माण भइसक्छन् ।’

तोकिएको समयभित्रै मौलिक हकसम्बन्धी कानुन बन्छन् कि बन्दैनन् भन्ने आशंका नगर्न उनले आग्रह गरे । ‘हामी युद्धस्तरमा नै मौलिक हकसम्बन्धी कानुन निर्माणमा जुटेका छौं, तोकिएको अवधिभित्रै सम्पन्न गर्छौं । त्यसमा सबैको साथ र सहकार्य जरुरी हुन्छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर