newskoseli.Com

महिला हराएको हरायै : कसरी हराउँछन्, कहाँ पुग्छन् ?

 

खुला सीमानाका कारण झापामा महिला तथा बालबालिका हराउने क्रम बढेको छ । वैदेशिक रोजगारीका नाममा समेत महिलाहरु वर्षेनि हराउने क्रम रोकिएको छैन ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आ.व. २०७४–२०७५ मा ५ सय १२ महिला तथा बालबालिका हराएको निवेदन परेकामा महिला ३ सय ६६, बालक ४४ र बालिका १ सय २ रहेका छन् । जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयमा निवेदन परेका ३ सय ६६ महिलामध्ये २ सय ६७ जना मात्र फेला परेको प्रहरीले जनाएको छ । ९९ महिला अझै बेपत्ता छन् ।

हराउनेमा ४४ बालकमध्ये ३६ फेला परेका छन् भने ८ जना फेला परेका छैनन् । सोही अवधिमा हराएका १ सय २ बालिकामध्ये ८५ जना फेला परेका छन् भने १६ बालिका अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा विगत ४ वर्षमा हराएकामध्ये भेटिने कमै मात्र छन् । आ.व. २०७१–२०७२ मा हराएका ३ सय ३० महिलामध्ये १ सय ६० मात्र भेटिएका छन्, जसमा १ सय ७० जना अझै बेपत्ता छन् ।

आ.व. २०७२–२०७३ मा ३ सय ५५ जना महिला तथा बालबालिका हराएको निवेदन परेकामा २ सय ३६ फेला परेको प्रहरीले जनाएको छ, १ सय १९ जना अझै बेपत्ता छन् । आ.व. २०७३–२०७४ मा हराउने महिला तथा बालबालिका ४ सय २८ थिए, जसमा २ सय ७६ फेला परेका छन्, १ सय ५२ जना अझै बेपत्ता छन् ।

जिल्लाका विभिन्न इलाका प्रहरीमा निवेदन परे पनि फेला पर्नेको सङ्ख्या भने कम छ । वैदेशिक रोजगारीका क्रममा नेपाली महिला भारतीय बाटो हुँदै घरेलु कामदारका लागि खाडी मुलुकमा जानेको गरेको महिला तथा बालबालिका क्षेत्रमा काम गर्दै आएकी महिला अगुवा भोजकला दवाडीले बताइन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार खुला सीमाना भएका कारणले गर्दा महिला हराउने क्रम बढेको हो । रोजगारीमा लगाइदिन्छु भनी प्रलोभनमा पारेर नेपाली चेलीहरु भारतका विभिन्न सहरमा बेचिएकाले पनि कम मात्रामा फेला पर्ने गरेको प्रहरीको भनाइ छ ।

सामाजिक सञ्जालले गर्दा पनि नेपाली युवतीहरू बढी मात्रामा  ‘प्रेम’ मा पर्ने र झुटो विवाहका सम्बन्धमा परेर भारतमा बेचिने गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर