newskoseli.Com

सरकारको उर्दी : सबै सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर !

 

सबै सरकारी कार्यालयले अबदेखि सेवाग्राहीलाई सूचना प्रदान गर्न अनिवार्य रूपमा सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि, २०७५’ स्वीकृत गरेपछि त्यस्तो व्यवस्था भएको जानकारी प्धानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले दिए ।

उनका अनुसार कार्यविधि स्वीकृत भएपछि सेवाग्राहीलाई सूचना दिन सबै कार्यालयले ‘ट्विटर’, ‘फेसबुक’ र ‘भाइबर’ जस्ता सामाजिक सञ्जाल सञ्चालन गर्नुपर्ने हुन्छ । सामाजिक सञ्जालबाट सरकारी कार्यालयका सूचना आदान–प्रदान गर्न, जनगुनासो ग्रहण गर्न र आफ्ना कार्यालयका सूचना सार्वजनिक गर्न सजिलो हुने उनले बताए । कार्यालयले आफ्ना सूचना पनि सामाजिक सञ्जालबाट नै सार्वजनिक गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ ।

कार्यालयले आफूलाई थप सहयोग हुने खालका विचार लाइक गर्ने, रिट्विट गर्ने, सन्देश, फोटो र भिडियो शेयर गर्ने, कसैको भनाइ उद्धृत गर्नेजस्ता कार्य पनि ट्विटरबाट गर्न सक्ने कार्यविधिमा उल्लेख छ । कार्यालयले सेवाग्राहीलाई जवाफ दिँदा प्रतिवाद वा आक्रोश नझल्किने गरी शिष्ट भाषा प्रयोग गर्नुपर्ने हुन्छ । सामाजिक सञ्जाल प्रयोग गर्दा एक निकायले अन्य निकायसँग सहकार्य गरेर सामाजिक सञ्जाल सञ्चालन गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ ।

सामाजिक सञ्जालको पेज बनाउँदा सरकारी संस्थाको नाम स्पष्ट झल्किने गरी बनाउनुपर्ने कार्यालय प्रमुख उपाध्यायले बताए । भाइबर सञ्चालन गर्दा आफ्नै कार्यालयकै प्रयोगमा रहेको एक वा आवश्यकता अनुसार बढी मोबाइल नम्बर प्रयोग गर्नुपर्ने हुन्छ । सेवाग्राहीले सोधेका कुराको जवाफ ‘तपाईंको प्रश्न–जिज्ञासा–गुनासो–समस्या–अन्यको जवाफ म्यासेजमार्फत दिइएको छ, हेर्नुहोला’ भनी कार्यालयले उत्तर दिनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

‘कार्यालयका सूचनालाई बढीभन्दा बढी प्रवाह गर्नका लागि सामाजिक सञ्जाल प्रयोग गर्न थालिएको हो,’ उनले भने– ‘यसअघि कतिपयले आफ्नै हिसाबले खोलेका छन्, ती सबैमा पनि एकरूपता ल्याई सञ्चालन गर्न कार्यविधि ल्याउन थालेका हौं ।’

सामाजिक सञ्जालका खाता र ह्याण्डल सञ्चालन–व्यवस्थापनमा कुनै बाधा–व्यवधान–नसोचेको विषय आएको अवस्थामा सो समाधान गर्न प्रत्येक निकायमा एक समस्या ‘समाधान टोली’ को व्यवस्था गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । उनका अनुसार अहिले १० प्रतिशत कार्यालयले मात्र ट्विटर सञ्चालन गरेका छन् । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर