newskoseli.Com

प्रहरी हवल्दार नै गाडी चोर ? हवल्दारकै घरमा भेटियो चोरीको गाडी !

 

पश्चिम नवलपरासीको सुनवलबाट एक साताअघि चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ ।

बा १५ च २१०४ नम्बरको गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नम्बर २६ गण बेलासपुरमा कार्यरत वरिष्ठ हवल्दार ठाकुरप्रसाद चौधरीको पश्चिम नवलपरासी बर्दघाट नगरपालिका– ५, पालडाँडास्थित निवासमा फेला परेको हो । प्रहरीले हवल्दार चौधरीसहित रुपन्देही सैनामैना नगरपालिका–३ का दिलीप बोहोरा र बुटवल उपमहानगरपालिका–१३ बेलवासकी जानकी बराललाई गाडी चोरीको आरोपमा पक्राउ गरेको छ ।

गाडी चोरी भएपछि बुटवल, भैरहवा, नवलपरासीलगायतका ग्यारेजमा खोज्ने क्रममा प्रहरीले सुनवल इलाका प्रहरी कार्यालयका प्रहरी जवान गुमानसिंह कुमाललाई ‘ग्राहक’ बनाएर ‘पुरानो गाडी किन्नु छ’ भन्दै पठाएको थियो । गाडी खोज्ने क्रममा सैनामैनाका दिलीप बोहाराले आफूसँग गाडी भएको बताएका थिए ।

बोहोराले १५ लाख रुपैयाँ मागे पनि ७ लाख रुपैयाँमा गाडी ‘खरिद’ गर्ने ‘कुरा मिलेको’ थियो । बिक्री गर्न लागिएको गाडी उपलब्ध गराउन बोहोरा र जानकी प्रहरी जवान कुमाललाई लिएर चौधरीको घरमा पुगेका थिए । गाडी नजिक रहेका सशस्त्र प्रहरीका हवल्दार चौधरी प्रहरी जवान कुमाललाई देख्नेबित्तिकै भाग्न खोजेपछि कुमालले चौधरीलाई नियन्त्रणमा लिएका थिए ।

पिछा गर्दै गएको प्रहरीको टोलीले अन्यलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । एक हप्तासम्ममा गाडी बिक्री नभएपछि चोरीका मुख्य नाइके चौधरीले गाडीको नम्बर निकालेर भारतीय नक्कली ब्लुबुक समेत बनाएर राखेका थिए ।

बीआर २२ एन ०९८८ नम्बरको नक्कली स्कारपियोको भारतीय ब्लुबुक बनाएका उनीहरूले १–२ दिनमा भारत लगेर बिक्री गर्ने तयारी गरेको अनुसन्धानमा खुलेको छ । चोरीमा संलग्न तीनै जनालाई चोरी मुद्दामा कारबाही अघि बढाइएकोे छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर