newskoseli.Com

२० प्रतिशत घट्यो तरकारीको मूल्य ! बुधबारदेखि खुल्यो कालीमाटी बजार…

 

आपूर्ति मन्त्रालय र मातहतका निकायले हालै गरेको बजार अनुगमनपछि कालीमाटी तरकारी बजारमा २० प्रतिशतसम्म तरकारीको मूल्य घटेको छ । सरकारले केही समयदेखि नियमित रुपमा गरेको बजार अनुगमनको प्रभावकारितास्वरुप बजारमा तरकारीको मूल्यमा कमी आएको दावी सम्बद्ध निकायले गरेको छ ।

पछिल्लो समय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिइरहेको छ । किसानबाट उपभोक्तासम्म आइपुग्दा चार गुणासम्म बढी मूल्य तिर्न बाध्य भएको गुनासो आएपछि गत सोमबार बिहान ३ बजे अनुगमन टोली कालीमाटीस्थित तरकारी बजारमा पुगेको थियो । गत सोमबार बिहान अनुगमनका लागि खटिएको सरकारी टोलीले जानकारी नै नदिई अनुगमन गर्न आएको भन्दै तरकारी व्यवसायीले विरोध गरी केहीबेर मूल गेट बन्द गरेर अनुगमनकर्तालाई थुनेका थिए ।

सोही दिन गरिएको अनुगमनका क्रममा तरकारीका दुई गाडीलाई कहाँबाट ल्याएको, कति मूल्यको हो, खरिद मूल्य कति र बिक्री मूल्य कति भनी अनुगमनकर्ताले प्रश्न गरेका थिए । व्यवसायीले उत्तर दिन नसकेपछि ती दुवै गाडीलाई नियन्त्रणमा लिइएको थियो । तरकारी गाडीलाई नियन्त्रणमा लिएको भन्दै व्यवसायीहरुले नाराबाजी सुरु गरेका थिए । त्यस क्रममा एक जना व्यवसायीलाई पक्राउ पनि गरिएको थियो । व्यवसायीको नाराबाजीका कारण कालीमाटी बजारक्षेत्र तनावग्रस्त बनी सोमबारदेखि बुधबार बिहानसम्म तरकारी बजार नै खुल्न सकेको थिएन ।

सरकारले किसान र उपभोक्ताबीचको मूल्य कायम राख्न दबाब दिएपछि बुधबार दिउँसोदेखि खुलेको तरकारी बजारमा त्यसपछि तरकारीको मूल्यमा कमी आएको विभागका अनुमगन अधिकृत ढुण्डिराज पोखरेलले जानकारी दिएका छन् । यसअघि औपचारिक रुपमा अनुगमन गरे पनि ती अनुगमनहरु प्रभावकारी हुन सकेका थिएनन् ।

भदौदेखि लागू भएको नयाँ कानुनले उपभोक्ता ठग्ने व्यापारीमाथि कारबाही गर्न बाटो खोलिदिएकाले नियमबाहिर रहेको कोही पनि ओझेलमा नपर्ने दाबी विभागले गरेको छ । टोलीले यसअघि धादिङ, चितवन, मकवानपुरलगायतका जिल्लामा पुगेर किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबारे अनुसन्धान गरेको थियो । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर