newskoseli.Com

आईजीपीलाई गृहमन्त्रीको निर्देशन : बलात्कार न्यूनीकरणको योजना तत्काल बनाउनोस्

महिला हिंसा र बलात्कारका घटना न्यूनीकरणका लागि तत्कालै विशेष योजना बनाउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षकलाई निर्देशन दिएका छन् ।

बिहीबार नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई गृह मन्त्रालयमा बोलाएर पछिल्लो समय बढिरहेका महिला हिंसा र बलात्कारबारेका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै गृहमन्त्री थापाले त्यस्ता घृणित कार्य रोक्नका लागि तत्काल विशेष योजना बनाउनु आवश्यक रहेको बताएका हुन् । बलात्कारका घटना न्यूनीकरणका लागि देशव्यापी रुपमा अभिभावकदेखि बालबालिकासम्मलाई सचेतनामूलक कार्यक्रम र जागरण अभियान सञ्चालन गर्नुपर्ने ठहर मेत गृह मन्त्रालयले गरेको छ ।

यस्ता घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध भएको भन्दै कहीं–कतै त्यस्तो भएको भए उनीहरुलाई समेत कारबाहीको दायरामा ल्याउन गृहमन्त्री थापाले प्रहरी महानिरीक्षकलाई निर्देशन दिए । महिला हिंसा र बलात्कारका घटनाबारे आएका र आउने उजुरीमा लापरबाही नगरी गम्भीरतापूवर्क कारबाही अघि बढाउन समेत गृहमन्त्रीले प्रहरीलाई निर्देशन दिएका छन् ।

गृहसचिव प्रेमकुमार राई समेत सहभागी सो छलफलमा गृहमन्त्री थापाले कञ्चनपुरको बालिका मृत्यु घटनाबारे सत्य–तथ्य बाहिर ल्याउनका लागि गठित छानविन समितिलाई सहयोग पुग्ने गरी सबै पक्षले काम गर्नुपर्ने पनि बताए ।

‘लागू पदार्थ निषेध र मदिरा नियन्त्रण अभियान’ सुरु गर्दै गृह

अनियन्त्रित मदिराको बिक्री–वितरण र लागू पदार्थको सेवनलगायतका कारणले बलात्कार र महिला हिंसाका घटना बढेको ठहर गर्दै गृह मन्त्रालयले यसविरुद्ध अभियान सुरु गर्ने भएको छ । केही दिनभित्रै गृहले देशव्यापी रुपमा ‘लागू पदार्थ निषेध र मदिरा नियन्त्रण अभियान’ सञ्चालन गर्ने भएको छ ।

मन्त्रिपरिषदमा लैजानका लागि गृहले मदिराको व्यवस्थित बिक्री–वितरण र सेवनसम्बन्धी प्रस्ताव तयार पारेको छ । सो प्रस्ताव पारित भएलगत्तै भदौ मसान्तभित्रै यो अभियान घोषणा गर्ने गृहको तयारी छ । इन्टरनेटमार्फत समेत अश्लीलता बढेका कारण पनि बलात्कारका घटना बढेको निष्कर्षका साथ गृहले इन्टरनेट नियमनको बारेमा समेत छलफल सुरु गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर