newskoseli.Com

‘फर्केर आउनेहरु’ लाई प्रचण्डको व्यंग्य : ‘लहडले नेता बनिँदैन’ !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी र नेता भनेको इतिहास र जनताले पैदा गर्ने विषय भएको उल्लेख गर्दै कोही पनि ‘लहड र रहरले’ नेता नबन्ने बताएका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी परित्याग गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने कार्यकर्ताहरुलाई स्वागत गर्दै अध्यक्ष दाहालले शनिबार बिहान आफ्नै निवास खुमलटारमा त्यस्तो जिकिर गरेका हुन् । प्रचण्डले भने– ‘कसैलाई रहर लागेर नेता हुन सक्ने कुरा होइन, पार्टी, नेता र विचार भनेको त इतिहास र जनताले आन्दोलनको क्रममा विकास गर्ने कुरा हो, लहडले नेता बनिँदैन ।’

आफूहरुले जनयुद्ध र शान्ति प्रक्रिया दुवैको नेतृत्व गरेको उल्लेख गर्दै लामो सङ्घर्ष र बलिदानपछि देश गणतन्त्रको युगमा प्रवेश गरेको उनले बताए । अध्यक्ष ‘प्रचण्ड’ले भने– ‘अब हामी सामाजिक न्याय र समृद्धिको एउटा प्रक्रियामार्फत समाजवादको तयारीमा छौं ।’

पार्टीमा नवप्रवेशी नेता तथा कार्यकर्तालाई स्वागत गर्दै सबैलाई बिनापूर्वाग्रह उचित भूमिका दिइने उनले बताए । उनले भने– ‘पार्टी छाडेर अन्य पार्टीमा गएर अनुभव हासिल गरेका तपाईं नेता–कार्यकर्ताप्रति मेरो कुनै पूर्वाग्रह हुन्न ।’

गणतान्त्रिक खेलकुदका उपाध्यक्ष विमला संग्रौला, उपत्यका ब्युरो सदस्य रामप्रसाद घिमिरे, काठमाडौं जिल्ला सदस्य डिल्लीराम थपलिया, गोपाल खरेल, भक्तपुर जिल्ला सदस्य राजराम लाथेजु, काठमाडौं क्षेत्र नं. २ का माधव लामिछाने र विष्णु तिमल्सेना नेत्रविक्रम चन्द नेतृत्वको नेकपा परित्याग गरी ओली–प्रचण्ड नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।

विप्लव र उनी नेतृत्वको पार्टीले ‘क्रान्तिका नाममा अराजकता फैलाउने र कार्यकर्ता अल्मल्याउने मात्र काम गरेको’ आरोप उनीहरुले लगाए । अबको समाजवादी क्रान्तिको नेतृत्व नेकपाबाट मात्र सम्भव देखिएको भन्दै आफूहरु यतै प्रवेश गरेको उनीहरुको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर