पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११, कलुवापुरनजिक शनिबार राति मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरीका सहायक हवल्दार भीमदत्तनगरपालिका– १८, खैरभट्टी घर भएका अन्दाजी ३२ वर्षीय हरिश भट्टको मृत्यु भएको छ ।
कैलालीको टिकापुरबाट से २ प ९६६९ नम्बरको मोटरसाइकलमा आउँदै गरेका भट्ट चढेको मोटरसाइकल र भीमदत्तनगरबाट धनगढीतर्फ जाँदै गरेको से १ ज ८६२ नम्बरको भ्यान आपसमा ठोक्किँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।
दुर्घटनामा भएको जानकारी पाउने बित्तिकै पुगेको प्रहरीको टोलीले सख्त घाइते अवस्थामा भेटिएका भट्टलाई उपचारार्थ तत्कालै अत्तरियाको अस्पतालमा भर्ना गरे पनि उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको हलद्धानीतर्फ लग्दै गर्दा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने भ्यान र चालकलाई इप्रका झलारीले नियन्त्रणमा लिएको छ ।
सहायक हवल्दार भट्ट उग्रतारा सशस्त्र प्रहरी गण टिकापुरमा सहायक हवल्दार पदमा कार्यरत रहेको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।