नारायणगढ बजारबाट मङ्गलबार बरामद गरिएको सुन, चाँदी, नगदसहित पक्राउ परेका व्यक्तिलाई बुधबार सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलनको आयोजना गरी २ किलो ७६ ग्राम सुन, ४ किलो ६ सय १७ ग्राम चाँदी १२ लाख रूपैयाँ नगद सार्वजनिक गरेको हो । पक्राउ परेका नारायणगढस्थित पुतलीबजारमा रहेको न्यु गणेश सुनचाँदी पसलका सञ्चालक भारत महाराष्ट्र घर भएका २७ वर्षीय राजेन्द्र शिवाजी पाटिललाई सार्वजनिक गरिएको छ ।
सो अवसरमा प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले प्रहरीको ३ नं. प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले सुराकीको आधारमा खोजतलास गर्दा उक्त परिमाणको सुन, चाँदी र नगद बरामद गरिएको बताए । पाटिलले अवैध रुपमा ल्याएको सुन बिक्री गरेको १२ लाख रूपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार रसुवा जिल्लास्थित तिब्बतसँग जोडिएको नाका हुँदै अवैध रुपमा सुन भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका पाटिलले उक्त सुन एक भारतीय नागरिकबाट खरिद गरेको बयानमा बताएका छन् । नियन्त्रणमा लिइएको सुन–चाँदी बजार मूल्य अनुसार १ करोड रूपैयाँ बराबरको छ ।
बरामद गरिएको सुन, चाँदी, नगद र पक्राउ परेका व्यक्ति समेतलाई प्रारम्भिक अनुसन्धानपश्चात् भन्सार ऐन, २०७४ अनुसार विस्तृत अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइने प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए ।