अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरे आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका छन् ।
संवैधानिक परिषदको बुधबारको बैठकले घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको परिषदको बैठकले कावा प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको वानकारी सभामुख कृष्णबहादुर महराले दिएका छन् ।
प्रमुख आयुक्त दीप बस्न्यातको अवकाशपछि २०७४ साल फागुन २ देखि घिमिरेले कार्यवाहक प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गर्दै आएका छन् । घिमिरे २०७१ चैत १९ मा आयोगको आयुक्त नियुक्त भएका थिए ।
बुधबारको बैठकमा प्राकृतिक स्रोत र वित्त आयोगका प्रमुख तथा सदस्यका बारेमा छलफल भए पनि निर्णय चाहिँ अर्को बैठकमा मात्रै हुने जानकारी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख महरा, राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना सहभागी भएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।