newskoseli.Com

अपडेटः ‘दर’ खाँदा बिरामी हुनेको संख्या ३७९ पुग्यो

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका– १२, काँसकोटमा शनिबार भएको ‘तीज’ को ‘दर’ खाने क्रममा विषाक्त खानाका कारण बिरामी हुनेको सङ्ख्या ३ सय ७९ पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार १ सय ३५ जनाको अस्पताल भर्ना गरी उपचार भइरहेको छ । अरु बिरामी भने उपचार गरी घर फर्किसकेको जानकारी खड्काले दिएका छन् । बिरामीमध्ये धुलिखेल सामुदायिक अस्पतालमा ८६ को उपचार भइरहेको छ र उनीहरूको अवस्था सामान्य रहेको अस्पतालका डा. अनमोल श्रेष्ठले जानकारी दिएका छन् ।

पाँचखाल नगरपालिका– १२, काँसकोटमा रहेको ग्रामीण स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शनिबार आयोजना गरेको ‘तीज विशेष दर खाने कार्यक्रम’ मा ‘दर’ खाने क्रममा सो घटना भएको हो । बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेका ५६ मध्ये २ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका डा. एञ्जला बस्नेतले बताएकी छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार बिरामीमा झाडापखाला, पेट दुख्ने, रिङ्गटा लाग्ने र बान्ता गर्नेजस्ता समस्या देखिएका छन् ।

बिरामीमध्ये केहीलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र, पोलिक्निक र केहीलाई काठमाडौंमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । बनेपा अस्पतालमा उपचार भइरहेका ३ को अवस्था सामान्य रहेको जनाइएको छ । शनिबार दिउँसो दर खाने कार्यक्रममा बिरामी भएकाहरूको सङ्ख्या बढ्दै गएको र उपचार लागि आवश्यक प्रक्रिया थालनी गरिएसँगै स्वास्थ्य विभागलगायतका टोलीले घटनास्थलको अवलोकन गरिसकेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए ।

राउतले भने– ‘अहिले अस्पतालमा उपचाररत बिरामीको अवस्था सामान्य छ ।’ उनका अनुसार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका टोली तथा प्रदेश सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य अधिकृतलगायत नेतृत्वको टोलीले घटनास्थलमा पुगेर बिरामीले खाएका खाना तथा पानीको नमूना सङ्कलन गरी प्रयोगशालामा लगेको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

यो पनि पढ्नुहोस्–
‘तीज’ को ‘दर’ खाँदा ५० जना बिरामी, बालबालिका सिकिस्त !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर