प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रसँग सोमबार संसदीय सुनुवाइ हुने भएको छ । सङ्घीय संसद मातहतको संसदीय सुनुवाइ समितिमा उनीविरुद्ध परेका उजुरी र भावी कार्ययोजना बारेमा सुनवाइ हुन लागेको हो ।
समितिको आइतबारको बैठकले प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध परेका सिकायत बारेमा उजुरीकर्तासँग सोधपुछ गरेपछि प्रस्तावित प्रधान्यायाधीशलाई सोमबार बिहान सुनुवाइका लागि बोलाउने निर्णय गरेको जानकारी समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले दिए ।
प्रस्तावित प्रधानन्यायाधीशका विषयमा चार उजुरी परेकामा एक जनाले उजुरी फिर्ता लिएका थिए भने तीन जनासँग समितिले आवश्यक सोधपुछ गरी प्रष्ट हुने प्रयास गरेको थियो । यसअघि प्रधानन्यायाधीशका लागि संवैधानिक परिषदले दीपकराज जोशीको नाम संसदीय सुनुवाइका लागि सिफारिस गरेकामा समितिले उनको नाम अस्वीकार गरेको थियो ।
जोशीको नाम अस्वीकृत भएपछि संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशका रूपमा रहेका मिश्रको नाम संसदीय सुनुवाइका लागि पठाएको थियो ।