newskoseli.Com

मालपोत अधिकृतसहित ९ जना कऱ्याप्प : कीर्ते गरी अर्कैको जग्गा नामसारी…

बूढानीलकण्ठ नगरपालिका– ५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नाममा नामसारी गराइदिने कार्यमा संलग्न मालपोत कार्यालय चाबहिलका कर्मचारीसहित ९ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

जग्गा कीर्तेमा संलग्न मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नासु रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले जानकारी दिएका छन् । जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नाममा नामसारी गर्ने काममा संलग्न बीचौलिया ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपप्रसाद गौतम, श्रीकृष्ण बडुवाल र सानुभाइलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

मालपोतका कर्मचारीसँगको मिलेमतोमा उनीहरुले जग्गाधनी कायस्थको नक्कली वारेसनामा गौतमको नाममा बनाई कित्ता नं ३२९ को १ रोपनी ९ आना ३ पैसा, कित्ता नं ३२५ को ८ आना १ पैसा र कित्ता नं ३२३ को ६ आना जग्गा भट्टराई र बडुवालको नाममा पास गरेका थिए ।

पक्राउ परेका ९ जनालाई लिखतसम्बन्धी कसुर र सङ्गठित अपराध मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी उपरीक्षक लामाले दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर