newskoseli.Com

बलात्कारबाट गर्भवती सुस्त मनस्थितिकी यी १४ वर्षे बालिका…

बलात्कृत भई गर्भवती भएकी बाँसगढी नगरपालिका– ६ की १४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्ति को र कहाँको हो भन्नेबारे जानकारी नपाउँदा स्वयं बालिका तथा उनको परिवार मात्र होइन, कानुनी कार्बाहीका लागि किटानी जाहेरी दिन समेत समस्या परेको छ ।

बलात्कार गरी गर्भवती बनाउने व्यक्तिको पहिचान हुन नसक्दा पीडित बालिका त सबैभन्दा बढी समस्यामा पर्ने नै भइन् साथसाथै उनको परिवार पनि चर्को समस्यामा परेको छ । सुस्त मनस्थितिकी ती बालिका आफूलाई बलात्कार गर्ने व्यक्तिका बारेमा प्रस्ट भन्न सक्दिनन् र घटनाका बारेमा सोधपुछ गर्दा समेत बोल्दै बोल्दिनन् ।

त्यसो त आफू बलात्कृत भई पीडित भएको भन्ने कुराको समेत ती बालिकालाई आभाष हुन सकेको छैन । यस्तो अवस्थामा बलात्कार गर्ने व्यक्तिको पहिचान गर्न झनै समस्या देखिएको छ । घर नजिकैको सोल्टी टोलका एक जना केटाले जङ्गलमा लगी आफूलाई बलात्कार गरेको उनले बताएकी छन् । र, त्यस व्यक्तिलाई देखे आफूले चिन्ने उनको भनाइ छ। तर, ती व्यक्तिको पहिचान गर्न र उनलाई न्याय दिलाउन कसैले, कतैबाट ठोस पहल गर्न सकेको छैन ।

गत वैशाखमा घरबाट ठाकुरबाबा नगरपालिकास्थित सैनाबरमा रहेको दिदीको घरमा जान्छु भनेर हिँडेकी उनी पाँच दिनसम्म बेपत्ता रहेकी थिइन् । घरतिरका र दिदीका सबै परिवार लागेर खोजी गरे पनि उनी कही कतै फेला पर्न सकेकी थिइनन् । हराएको छैटौं दिनमा उनलाई सुरक्षाकर्मीले मोटरसाइकलमा घर पुऱ्याइदिएका थिए । उनलाई घर पुऱ्याएपछि घरका कसैलाई पनि नभेटी ती सुरक्षाकर्मीहरु फर्किएका थिए ।

बालिकाकी आमाले भनिन्- “म बारीमा थिएँ, दुईवटा मोटरसाइकल आएर रोकिए, छोरीलाई लिएर आएका रहेछन् । म त्यहाँ पुग्न नपाउँदै उनीहरु हिँडिहाले, एक जनाले पुलिसको पोशाक लगाएको थियो, उनीहरुले मसँग केही कुरै गरेनन् ।”

पाँच दिनसम्म कहाँ थियाै भनी सोधपुछ गर्दा बर्दिया राष्ट्रिय निकुञ्जस्थित बबई पुल नजिकै चार जना प्रहरीले समातेर लगेर राखेको ती बालिकाले बताउने गरेकी छन् । बालिकाले कहिले चाहिँ उनीहरुले आफूसँग शारीरिक सम्पर्क राखेको बताउने र कहिले चाहिँ केही पनि गरेनन् भन्दै बोली फेर्ने गरेकी छन् । उनले हरेक पटक बोली फेर्दा बलात्कार गरी गर्भवती बनाउने व्यक्तिको पहिचानमा समस्या हुँदै आएको छ ।

बालिकाकी आमाका अनुसार उनी वैशाखदेखि महिनावारी भएकी छैनन् । छोरीको महिनावारी किन भएन भन्ने बारेमा सोचेको तर अरू नै केही कारणले नभएको होला भनेर सामान्य रुपमा लिएको बताउँदै छोरीको शरीर परिवर्तन भएको देखेपछि मात्रै के कारणले यस्तो भएको हो भनी स्वास्थ्यचौकीमा परीक्षण गर्न गएपछि मात्र पेटमा बच्चा रहेको थाहा पाएको बालिकाकी आमाले बताइन् ।

कति महिनाको गर्भ छ भन्ने बारेमा स्वास्थ्य चौकीले केही नभनीदिँदा उनीहरू थप समस्यामा परेका छन् । बालिकाको पेटमा करिव ५ महिना अर्थात् २० हप्ताको गर्भ भइसकेको छ । यदि गर्भपतन गराउन खोजेको खण्डमा पनि कानुनले १२ हप्ताको गर्भलाई मात्रै गर्भपतन गर्ने मान्यता दिएको छ ।

बालिका आफ्नो हित र अहितका बारेमा केही बोल्न सक्दिनन् । उनले बच्चा जन्माईहाले पनि उक्त बच्चाको जिम्मेवारी कसरी पूरा गर्लिन् ? त्यसमाथि अपरिपक्व शरीर र कमजोर मानसिक अवस्थामा जन्मिएको बच्चा र आमाका साथै परिवारलाई सामाजिक रुपमा हेर्ने गलत दृष्टिकोणबाट कसरी बच्ने भन्ने चिन्तामा छ पीडित परिवार । समाजमा सहयोग गर्नेभन्दा पनि आलोचना गर्ने बढी छन् ।

त्यस घटनाका बारेमा थाहा भएको बताउँदै पीडित बालिका र परिवारलाई न्याय दिन आफूले पहल गर्न खोजे पनि बालिकाले आफूमाथि बलात्कार गर्ने व्यक्ति र स्थानका बारेका यकिन रुपमा भन्न नसकेको उल्लेख गर्दै न्यायका निम्ति प्रयास भने जारी राखेको बाँसगढी नगरपालिका– ६ का वडाध्यक्ष दशरथ चौधरीले बताए । बालिका बलात्कृत भई गर्भवती भएको घटनाका विषयमा आफ्नो ध्यानाकषर्ण भएको बताउँदै समस्या सामाधानका लागि प्रहरी र जिल्ला प्रशासन कार्यालयमा समन्वय तथा पहलको प्रक्रिया अगाडि बढाएको बाँसगढी नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक सुष्मा चौधरीले बताइन् ।

पीडित बालिका र अभिभावकले घटनाका सम्बन्धमा निवेदन लिएर आए आफ्नो तहबाट यथासम्भव पहल गर्नुका साथै सम्बन्धित अन्य निकायमा पत्राचार गर्ने निमित्त प्रजिअ तथा सूचना अधिकारी महेन्द्रजङ्ग शाहीले बताएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर