newskoseli.Com

शिक्षकद्वारा विद्यार्थीमाथि ‘हातपात’ र ‘दुर्व्यवहार’ : छानविन समिति बनाउने तयारी…

पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित एक सामुदायिक विद्यालयका शिक्षकले विद्यार्थीमाथि हातपात र ‘दुर्व्यवहार’ गरेको घटनाबारे सत्य–तथ्य पत्ता लगाउन छानविन समिति गठनको माग गरिएको छ ।

सुनवलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारीले विद्यार्थीमाथि हातपात र ‘दुर्व्यवहार’ गरेको घटना बाहिर आएपछि स्थानीयवासीको मागबमोजिम छानविन समिति बनाउन लागिएको जानकारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले दिएका छन् ।

‘दुर्व्यवहार’ गर्ने शिक्षकद्वयलाई विद्यालयबाट हटाउनुपर्ने माग गर्दै विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । उनीहरूलाई नहटाइए ‘आन्दोलन’ थप सशक्त पार्ने जानकारी पीडित विद्यार्थी अर्जुन गुप्ताले दिए । केही दिनअघि सोही विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रदीप कोंहार, धीरज पाण्डे र अर्जुन गुप्तालाई ‘अपशब्द’ प्रयोगका साथै हातपात गरेको आरोप शिक्षकद्वयमाथि लागेको छ । विद्यार्थीलाई सम्झाउने क्रममा दुःखद् घटना भएको विद्यालयका प्रधानाध्यापक पाण्डेले स्वीकार गरे ।

कक्षा १० मा नेपाली विषयअन्तर्गत ‘हाम्रो संस्कृति’ शीर्षक पाठ अध्यापन गराउने क्रममा शिक्षक तिवारीले फरक–फरक समुदाय र सम्प्रदायको उदाहरण दिँदा मधेश क्षेत्रको संस्कृति बताउने क्रममा ठेस पुग्ने शब्दको प्रयोग गरेको भन्दै विद्यार्थीले विरोध जनाएका थिए ।

विरोध जनाएपछि शिक्षक तिवारी र प्रधानाध्यापक पाण्डेले आफूहरूमाथि हातपात समेत गरेको विद्यार्थीद्वारा शिक्षा विकास तथा समन्वय एकाइमा दिइएको उजुरीमा उल्लेख छ । उजुरीपछि विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीलाई १० दिनका लागि निलम्बन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्यालले जानकारी दिए ।

विद्यार्थीले दोषी शिक्षकद्वयलाई कारबाहीको माग राख्दै सुनवल नगरपालिका र शिक्षा विकास तथा समन्वय एकाइ पश्चिम नवलपरासीको परासीस्थित कार्यालयमा निवेदन दर्ता गराइसकेका छन् । उक्त नगरपालिका देशकै पहिलो बालमैत्री स्थानीय तह घोषणा भएको दुई साता नपुग्दै शिक्षकद्वारा विद्यार्थीमाथि हातपात र ‘दुर्व्यवहार’ भएको घटना बाहिर आएपछि यस घटनाप्रति सरोकारवालाको ध्यान केन्द्रित भएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर