newskoseli.Com

असोज ७ मा उपत्यका बन्द : नेकपा (विप्लव) को घोषणा !

फाइल तस्बिर

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकको नेपाल कम्युनिस्ट पार्टीले असोज ७ गते आइतबार उपत्यका बन्दको आह्वान गरेको छ ।

सो पार्टीको उपत्यका विशेष ब्युरोका इन्चार्ज प्रज्वलद्वारा शुक्रबार प्रेषित विज्ञप्तिमा जनाइए अनुसार पक्राउ परेका सो पार्टीका स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत पोलिटब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु र अरु सबै तहका नेता–कार्यकर्ताको गिरफ्तारीविरुद्ध एवं उनीहरूको यथाशिघ्र स–सम्मान रिहाइका लागि उपत्यका बन्दको आह्वान गरिएको हो ।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ–

‘ओली–प्रचण्ड सरकारले नेपाललाई यतिखेर अघोषित रूपमा युद्धग्रस्त क्षेत्र बनाइरहेका छ । ओली सरकारद्वारा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता कमरेड प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू कमरेड पदम राई, शिलु, कमरेड जीवन्त, कमरेड गम्भीर, कमरेड ओमप्रकाश पुन, केन्द्रीय सदस्यहरू कमरेड दिपेश, कमरेड सुमन, कमरेड आजाद, कमरेड असल, कमरेड देवनाराण शाहलगायत सयौं राजनीतिकर्मीलाई विभिन्न झुट्टा मुद्दामा जेल तथा हिरासतमा राखिरहेको छ ।

यो सरकारले आफ्नै अदालतको आदेशको समेत घोर अवहेलना हुने गरी हाम्रो पार्टीका प्रवक्तालगायतका नेताहरूलाई पटक–पटक गिरफ्तारी गर्ने र जिल्ला–जिल्ला घुमाउने काम गरिरहेको छ । राज्यको यस किसिमको निरङ्कुशता तथा अराजकताको हामी घोर विरोध तथा भर्त्सना गर्दछौं ।

ओली सरकारले श्रमजीवी तथा उत्पीडित जनताको ढाड भाँचिने गरी करवृद्धि गरेको छ । निर्मला पन्तलगायत दर्जनौं किशोरीहरूको बलात्कार गरी हत्या हुँदा समेत यो सरकार अपराधीलाई न्यायको कठघरामा उभ्याउनुको सट्टा उल्टै अपराधीलाई बचाउन अनेक प्रपञ्च गरिरहेको छ । दुईतिहाइको दम्भमा हुर्किंदै गरेको यो मैमत्त फासिवादी सरकारले कमरेड प्रकाण्डलगायत पीबीएमहरू, सीसीएमहरू तथा सबै तहका नेता–कार्यकर्ताको गैरकानुनी तथा गैरन्यायिक गिरफ्तारीका विरुद्ध एवं उहाँहरूको यथाशिघ्र स–सम्मान रिहाइका लागि यही असोज ७ गते आइतबार उपत्यका बन्दको कार्यक्रम घोषणा गरेको छ ।

उक्त उपत्यका बन्द कार्यक्रमलाई सफल बनाउन उपत्यकाभित्र रहेका सम्पूर्ण राष्ट्रवादी कर्मचारी, शैक्षिक संस्था, उद्योग, कलकारखाना, यातायात क्षेत्रलगायत सम्पूर्ण वर्ग, क्षेत्र, पेसाका जनसमुदायलाई ओली–प्रचण्डको फासिवादी रवैयाका विरुद्ध तथा कमरेड प्रकाण्डलगायत नेता–कार्यकर्ताहरूको रिहाइको पक्षमा ऐक्यबद्धता जाहेर गर्न उपत्यका बन्द भव्य र शानदार रूपमा सफल पारिदिनहुन हार्दिक अपिल गर्दछौं ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर