newskoseli.Com

वरिष्ठ लेखक–साहित्यकार साहनीमाथि दुर्व्यवहार : चौतर्फी विरोध र आपत्ति

वरिष्ठ लेखक, साहित्यकार, पत्रकार, प्राध्यापक एवं अधिवक्ता दिल साहनीमाथि बुटवलमा दुर्व्यवहार भएको छ ।

अविचल क्रान्तिकारी एवं प्रखर राष्ट्रवादी चिन्तक समेत रहेका साहनीमाथिको दुर्व्यवहार आपत्तिजनक भएको भन्दै उद्योगी, नागरिक समाज, बार एसोसियसन, पुरानो बटौली संरक्षण समिति लगायतका ८ वटा संघ–संस्थाहरुले आपत्ति जनाएका छन् ।

मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले लेखक एवं बुद्विजीवी साहनीमाथि भएको दुर्व्यवहार खेदजनक रहेको बताएका हुन् । नेपाली राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा साहनीले आफ्नो विचार राखेकै कारण उनीमाथि दुर्व्यवहार हुनु गम्भीर भएको भन्दै यस्ता अमर्यादित हर्कत नदोहोर्‍याउन उनीहरुले सम्बन्धित पक्षलाई चेतावनी दिएका छन् ।

विज्ञप्ति जारी गर्नेहरुमा पुरानो बटौली संरक्षण समितिका अध्यक्ष रविन्द्र लाकौल, राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्चका अध्यक्ष पदम कार्की, पाल्पाली समाज नेपालका उपाध्यक्ष जितबहादुर भाट, उच्च अदालत बार एशोसियसनका अध्यक्ष षडानन्द भण्डारी, अखिल नेपाल उद्योग–व्यापार संघका अध्यक्ष ढुण्डीराज पौडेल, रिक्सा व्यवसायी संघका अध्यक्ष कृष्ण तिवारी, नेपाल उद्योग–व्यापार संघका अध्यक्ष शंकर कोइराला, नेपाल घरबहाल सरोकार संघका अध्यक्ष खगेन्द्र पौडेल रहेका छन् ।

बुटवलस्थित जितगढी–फूलबारी (मणिमुकुन्द सेन दरबार उद्यान) आसपासको ३ बिगाहा नेपाली भूमि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७३ फागुन १७ मा गरेको भारतीय सैनिक वितरण कार्यालय (पीपीओ) का नाममा भारत सरकारलाई दिने निर्णय राष्ट्रघाती भएको भन्दै रुपन्देहीका स्थानीय राजनीतिक दल, विभिन्न उद्योगी–व्यवसायी तथा सामाजिक संघ–संस्था, बुद्विजीवी, प्राध्यापक, वकिल, पत्रकार, नागरिक समाज, संस्कृतिकर्मी एवं सरोकारवालाले विरोध गर्दै आएका छन् ।

यसबारे सरोकारवालाहरुबीच विभिन्न चरणमा छलफलहरु समेत हुँदै आएको थियो । यही सन्दर्भमा असोज ५ मा बुटवल उपमहानगरपालिकाले सर्वपक्षीय बैठक बोलाएको थियो । लेखक साहनीले ऐतिहासिक जितगढी किल्लालाई सरकारले पेन्सन क्याम्प (पीपीओ) सम्झौताको नाममा भारतलाई बुझाएकोप्रति आपत्ति जनाउँदै आएका थिए । बुटवलमा ‘ऐतिहासिक जितगढी किल्ला बचाऊ अभियान’ गठन गरेर सम्झौताविरुद्ध आन्दोलन चलिरहेको छ ।

त्यसैगरी, रुपन्देहीका साहित्यकारहरुले पनि साहनीमाथि भएको दुर्व्यवहारको विरोध गरेका छन् । मंगलबारै विज्ञप्ति प्रकाशित गरेर उनीहरुले वरिष्ठ साहित्यकार दिल साहनीमाथि बुटवलमा भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । स्रष्टाहरुले भारतीय पेन्सन क्याम्प देशको सार्वभौमिकतासँग सम्बन्धित विषय भएको भन्दै यसका बहुआयामिक पक्षहरुबारे बहस गर्नु जरुरी रहेको समेत बताएका छन् ।

एक बौद्धिक व्यक्तित्वको हैसियतले राष्ट्रियताको विषयमा आफ्नो विचार राख्दा अमानवीय दुर्व्यवहार हुनु खेदपूर्ण र आपत्तिजनक भएको उनीहरुले बताएका छन् । ‘बौद्धिक व्यक्तित्व, वरिष्ठ अधिवक्ता, स्रष्टा एवं पत्रकार सेनानीको हैसियतले आफ्नो विचार राख्न पाउने संवैधानिक अधिकार कुण्ठित गराइएको उक्त घटना निन्दनीय, खेदपूर्ण र आपत्तिजनक छ । उक्त घटनाप्रति घोर भर्त्सना गर्दै घटनाबारे तत्काल छानबिनका लागि सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ– ‘आगामी दिनमा यस्ता घटना पुनः दोहिरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं ।’ स्रष्टाहरुको फरक मतप्रति असहिष्णु बन्नुले कालान्तरमा प्रजातन्त्र (लोकतन्त्र) नै संकटमा पर्ने उनीहरुले बताएका छन् ।

कवि एवं वरिष्ठ साहित्यकारहरु रामचन्द्र भट्टराई, प्रा.डा. हिरण्यलाल ज्ञवाली, बुटवल कला–साहित्य–संस्कृति प्रतिष्ठानका अध्यक्ष दीपक ज्ञवाली, कवि दीपक विक, प्रगतिशील लेखक संघ रुपन्देहीका कार्यबाहक अध्यक्ष कविराज पौडेल, साहित्यसंगमको तर्फबाट कवि गिरी श्रीस मगर, सरिता श्रीस मगर, कृष्ण गाउँले, पाठकमञ्चको तर्फबाट रामचन्द्र श्रेष्ठ, माधव गौतम, कृष्ण पाण्डे, प्रलेस प्रदेश नं. ५ सचिवालय सदस्य खोमा तरामु मगर, बुटवल साहित्य परिषदबाट ज्ञानु केसी, लिला राना मगर, गजलसागर नेपालका अध्यक्ष मिन राना, लुम्बिनी बाङ्मय प्रतिष्ठान नेपालका केन्द्रीय सचिव ऋषि आजाद, छन्दवादी समाज नेपालका अध्यक्ष श्याम तिवारी, सिद्धार्थ साहित्य समाजका अध्यक्ष शशी पन्थी, न्यु होराइजन साहित्य परिषदका अध्यक्ष हरि पौडेलले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर