newskoseli.Com

प्रधानमन्त्री ओलीले पाए फेरि अर्को ‘पीएचडी’…

युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पुर्‍याएको योगदानको कदर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि (डक्टर्स अनरिस कजा) प्रदान गरेको छ ।

मंगलबार युनिभर्सिटीमा आयोजित समारोहमा उक्त उपाधि स्वीकार गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दिइएको उपाधि नेपालको शान्ति प्रक्रियाको सफलता तथा शान्ति चाहने नेपाली जनताको सम्मान भएको बताए । उनले भने– ‘यो उपाधि शान्तिका दूत बुद्ध जन्मेको मुलुकका जनतालाई दिइएको हो, विश्वभर समझदारी, सहिष्णुता तथा शान्तिका लागि यस विश्वविद्यालयले गरेको काम प्रशंसनीय छ ।’

विश्वका नेताहरू जुनसुकै मुलुकबाट आए पनि संयुक्त राष्ट्रसङ्घमा शान्तिपूर्ण पृथ्वी, साझेदारीयुक्त प्रगति तथा मानवताको प्रगतिका लागि एकबद्ध भएको प्रधानमन्त्री ओलीले बताए । राष्ट्रसङ्घको महासभाको ७३औं महाधिवेशनमा आतङ्कवादको बढ्दो घटना, बढ्दो तापक्रम र समुद्रको बढ्दो सतह, निरन्तर गृहयुद्ध तथा क्षेत्रीयताका घटना र निरन्तर खाद्य असुरक्षाका विषय उठाइएको जानकारी उनले दिए ।

सो विश्वविद्यालयसँग मानवले भोगेका द्विविधा समाधान गर्ने उपाय हुने भएकाले त्यसको समाधान खोज्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले शान्ति र सहिष्णुताको संस्कृति सिर्जना गर्ने, त्यसको खोजलाई अभिप्रेरित गर्ने र त्यसबाट विश्वले हाल भोगेका द्विविधाको समाधान दिने बताए ।

प्रधानमन्त्री ओलीले वर्तमान विश्व सफलता र असफलता, प्रगति र दुर्गति एवं आशा तथा निराशा सबैको समायोजन भएको बताउँदै विश्वले आकर्षक आर्थिक प्रगति र असाधारण प्राविधिक प्रगति हासिल गरे पनि ती फाइदा न्यायोचित रूपमा सबैले प्राप्त नगरेको, अमानवीयता तथा गरीबी अझै विद्यमान भएको र समाज तथा मुलुकबीच असमानता अझै बढ्दो रहेको उदाहरण दिए । गृहयुद्धका कारण हजारौं जनताको ज्यान गुमेको र आतङ्कले विश्वको सबै भागमा अझै चुनौती दिएको उनले उल्लेख गरे ।

अहिले धेरै समस्याले मानव मस्तिष्कमा जरो गाडेको र मस्तिष्कमा रहेको हिंसा भावनाले युद्धमा लैजाने गरेको बताउँदै व्यक्तिमा उब्जिएको लालचले द्वन्द्व तथा भ्रष्टाचार बढाउने र व्यक्तिको मगजमा रहेको अज्ञानले असहिष्णुताको संस्कार जन्माउने धारणा प्रधानमन्त्री ओलीले व्यक्त गरे । उनले भने– ‘पहिले मानिसको दिमागमा नै शान्ति जगाउनुपर्छ, त्यो नै शान्तिका लागि नभई नहुने कुरा हो ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर