newskoseli.Com

‘एकता त तेल र पानी मिसाएजस्तो’ : माधव नेपाललाई नेकपाका नेताको सुझाव…

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक नेताले पार्टीका शीर्ष नेताहरुको व्यवहारका कारण तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकता ‘पानीमा चिनी मिसाएजस्तो’ हुनु पर्नेमा ‘तेलमा पानी मिसाएजस्तो’ भएको दुःखेसो पोखेका छन् ।

तत्कालीन एमालेमा प्रकाशन र प्रचार क्षेत्रका एक हस्ती मानिने नेकपाका केन्द्रीय नेता सूर्य थापाले मंगलबार सामाजिक सञ्जाल ‘फेसबुक’ मा ‘स्ट्याटस’ लेख्दै भनेका छन्– ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा लामो समय अलग–अलग रहिआएका पूर्ववर्ती दुई पार्टीबीच मातहतमा एकता भइरहेका बेला चिनी र पानी मिसाउँदाजस्तो घुलनशीलता हुनुपर्नेमा नेताहरुको भद्दा जुहारीले दुनियाँ हँसाइरहेको छ, अहिले एकताका बखत पानी र तेलजस्तो तैरिएर अलग हुने अवस्था होइन किनभने पार्टी एकता आधारभूत तहसम्म पुग्न सकेको छैन ।’

नेता थापाले अगाडि लेखेका छन्– ‘त्यसैले यस्तो बेला नेताहरु बढी जिम्मेवार बन्नुपर्छ । पार्टी एकताको संक्रमणकालबाट गुज्रिरहेको हालको अवस्थामा कहीं–कतैबाट नेताविशेषलाई उकास्ने र भड्काउने प्रयास हुने भएकाले यस्ता विषयमा उहाँहरु सतर्क रहनुपर्ने खाँचो छ ।’

उनी अझै अगाडि भन्छन्– ‘शीर्ष तहका नेताहरूबाट सुरु भएको घोचपेच वा आरोप–प्रत्यारोपलाई दोस्रो र तेस्रो पुस्ताका नेताले पछ्याएको देख्दा गुटबन्दी तल्लो तहसम्मै जाने खतरा विद्यमान देखिन्छ । अनुपयुक्त मञ्चमा पार्टीले नेतृत्व गरेको सरकारको आलोचना गरेर वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै कद होचो पार्नुभएको छ । पार्टीका सबै व्यक्ति विधि र पद्धतिअनुसार चल्नु आवश्यक छ भनिरहँदा आफैंले त्यसको हेक्का नराख्ने, अनधिकृत भेला गरेर दबाब सिर्जना गर्ने तरिका अपनाएर पार्टीको हित सम्भव छैन ।’

वरिष्ठ नेता माधवकुमार नेपाललाई सुझाव दिँदै नेता थापा अन्त्यमा लेख्छन्– ‘यो तथ्य सबभन्दा बढी उहाँले नै बुझ्नुहुन्छ तैपनि बेला–बेला आवेग र उत्तेजनामा आएर संयम गुमाउने उहाँको कमजोरी रहिआएको छ । कोही व्यक्तिविशेषका लागि मात्रै केन्द्रित नगरेर समग्र पार्टीका लागि संस्थागत कार्यप्रणाली र पद्धतिको अवलम्बन र अभ्यास अनिवार्य छ । भागवण्डा नमिले मात्र विधि, पद्धति र संस्थागत निर्णय प्रक्रियाको रोइलो कसैले पनि प्रदर्शन गर्नुहुँदैन ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर