newskoseli.Com

‘संगम स्वीट्स’ का रंगीन मिठाइ खाँदै हुनुहुन्छ ? सावधान ! हाइड्रो– १ (नीर) मिसाइन्छ नि !

राजधानीको नयाँ बानेश्वरमा सङ्गम शर्माले सञ्चालन गरेको ‘सङ्गम स्वीट्स एण्ड स्न्याक्स प्रालि’ ले मिठाइमा हाइड्रो– १ नामको रसायन मिसावट गर्दै आएको फेला परेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार गरेको अनुगमनका क्रममा उक्त पसलले सेतो कपडामा प्रयोग गरिने वस्तु (नीर) को पाउडर मिसाउने गरेको प्रमाणित भएको हो । बानेश्वरकै मिलनचोकस्थित गोदाममा उक्त पाउडर फेला परेको हो ।

मिठाइमा हाइड्रो– १ नाम अखाद्य वस्तु मिसावट भएको फेला परेका कारण शर्मालाई खाद्य ऐन, २०२३ र नियमावली, २०२७ अनुसार कानुनी कारबाही गरिने खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिएका छन् । खाद्यान्नमा अखाद्य वस्तु मिसावट गरेको प्रमाण फेला परेमा सो ऐन र नियमावलीमा कम्तिमा ५ वर्ष कैद वा ५० हजार रूपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

खाद्य स्वच्छता कायम गर्ने उद्देश्यले खाद्य अनुसन्धान अधिकृत सुवेदीको नेतृत्वमा अनुगमन गर्न गएको टोलीले मंगलबारै सो गोदाम र पसल बन्द गरिदिएको छ । अनुगमनमा उपभोक्ता अधिकारकर्मी, जिल्ला प्रशासन कार्यालय र पत्रकार पनि सहभागी थिए ।

शर्माको बानेश्वरस्थित पसलमा भेटिएको अखाद्य ५ लिटर घिउ समेत नष्ट गरिएको छ । घिउमा ‘पोल्यारिटी’ को मात्रा ३९ रहेकाले नष्ट गरिएको हो, जबकि स्वस्थ्य घिउमा ‘पोल्यारिटी’ को मात्रा अधिकतम २५ हुनुपर्ने सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर