newskoseli.Com

माधव नेपाल नाचे छमछमी : प्रचण्डले चुकाए मौका…

सधैंजसो राजनीतिक गतिविधि तथा कूटनीतिक भेटघाटमा सक्रिय रहने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छमछमी नाचिदिँदा उपस्थित दर्शकहरु हर्षविभोर भए ।

रौतहट–काठमाडौं सम्पर्क समन्वय कमिटीले विजयादशमी, दीपावली तथा छठका अवसरमा शनिबार राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले सांस्कृतिक रुपमा एकताबद्ध रहन सबैमा सन्देश दिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नेपाललाई महासचिव विष्णु पौडेल तथा नेताहरु प्रभु साह, वंशीधर मिश्रलगायतले नृत्यमा साथ दिए । नेताहरुको सामूहिक नृत्यस्थल बनेको मञ्चमा व्यावसायिक फोटोग्राफरका साथै दर्शक दीर्घाबाट क्यामेरा र मोबाइलबाट तस्बिर लिनेको घुइँचो थियो ।

केहीबेर अघिसम्म मात्र सोही मञ्चमा रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने आफ्नो नृत्य देखाउने मौका चुकाए । शनिबारै गोरखा जाने हतारले गर्दा समारोहलाई सम्बोधन गरेर उनी निस्किहाले । सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले निरङ्कुश शासन तथा सामन्तवादविरुद्ध चेतना फैलाउन र कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउन रौतहटको ठूलो योगदान रहेको चर्चा गरे ।

जनताको चाहनाअनुसार दुई ठूला कम्युनिस्ट पार्टीको एकता युगान्तकारी निर्णय भएको बताउँदै प्रचण्डले भने– ‘७ दशकदेखिको राजनीतिक अस्थिरता अन्त्य भएको छ, अब जनताको आर्थिक विकाससहितको राष्ट्रिय समृद्धिका लागि आधार तयार भएको छ ।’

विगतदेखि नै त्यहाँका जनताले कम्युनिस्ट चिन्तनलाई संरक्षण गरेको बताउँदै २०१५ को चुनावमा रौतहटले दुई स्थान प्राप्त गरेको नेता नेपालले स्मरण गरे । पछिल्लो समयमा देशमा बढेको हत्या, हिंसा, बलात्कारका घटनाप्रति दुःख व्यक्त गर्दै अपराधीलाई पहिचान गरी कडा कारबाही गर्नुपर्नेमा उनले जोड दिए ।

महासचिव पौडेलले पार्टीभित्रको एकता प्रक्रियालाई चाँडो टुङ्गोमा पुर्‍याउन जनवर्गीय सङ्गठनबीच अन्तिम चरणको छलफल भइरहेको जानकारी गराए ।

नेताहरु सरला यादव, प्रभु साह, वंशीधर मिश्र, शिवहरि न्यौपानेलगायतले जनताले नेकपाको नेतृत्वमा मात्र आर्थिक विकास सम्भव देखेकाले त्यसतर्फ सरकार संवेदनशील बन्नुपर्ने बताउँदै पार्टी एकताले आर्थिक, सांस्कृतिक रुपान्तरणका लागि ऊर्जा थपेको बताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर