newskoseli.Com

महानिरीक्षक खनालको घोषणा : गल्ती गर्ने प्रहरीमाथि कारबाही हुन्छ

केही प्रहरीका कारण प्रहरी सङ्गठन नै नराम्रो हुन पुगेको भन्दै गल्ती गर्ने प्रहरी अधिकारीलाई कारबाही गरिने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् ।

आइतबार राजधानीमा प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै जनताले प्रहरीप्रति आशा र भरोसा गरेकाले जनचाहना अनुसार सेवा प्रदान गर्नुपर्ने उनले बताए । ‘सङ्गठनभित्र गल्ती गर्नेलाई कारबाही नगरेसम्म प्रहरी सङ्गठन राम्रो हुँदैन’– उनले भने ।

नेपाल प्रहरीको मान, सम्मान, इज्जत, प्रतिष्ठालाई अगाडि बढाउनका लागि सबैले हातेमालो गरेर काम गर्नुपर्ने उनले बताए । ‘प्रहरीले लोभ–लालच नगरी हरेक नागरिकको दिलमा बस्ने गरी काम गर्नुपर्छ’– उनको कथन छ । प्रहरीभित्र सञ्चालन हुने खेलकुद गतिविधिलाई सबै प्रदेशमा लैजान आफूले प्रहरी प्रधान कार्यालयबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको महानिरीक्षक खनालले स्पष्ट पारे । नेपाल प्रहरीमा लागेर खेल खेल्ने खेलाडीको भविष्य उज्वल रहेको उनको भनाइ छ ।

नेपाल प्रहरीले खेललाई प्राथमिकता दिएको राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक समेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातले बताए । प्रहरीभित्र खेलाइने खेलले राष्ट्रिय खेलको विकासमा समेत मद्दत पुग्ने उनको भनाइ छ । असोज १७ देखि सञ्चालन भएको खेल आइतबार सकिएको हो ।

कूल १० टोली रहेको उक्त खेलमा ५ नं. प्रदेश प्रहरी कार्यालय दाङले ३ नं. प्रदेश प्रहरी कार्यालय हेटौंडालाई ३–२ को सेटले हराएको थियो । प्रतियोगिताको प्रथम टिमलाई ५० हजार रुपैयाँ, प्रमाणपत्र र मेडल, दोस्रो टिमलाई ३५ हजार रुपैयाँ, प्रमाणपत्र र मेडल तथा सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ नगद प्रदान गरियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर