newskoseli.Com

दुई छात्रामाथि पालैपालो बलात्कारको आरोपमा शिक्षक पक्राउ

दुई जना छात्रालाई पटक–पटक यौन दुर्व्यवहार र बलात्कार गरेको आरोपमा पनौती नगरपालिका– १०, खोपासी घर भई बेथानचोक गाउँपालिका– ४ बस्ने शङ्कर पहरीलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितहरूको जाहेरीका आधारमा मावि तहसम्म अंग्रेजी विषय अध्यापन गर्ने ३१ वर्षीय शिक्षक पहरीलाई शुक्रबार पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताएका छन् । उनले भने– ‘आइतबार म्याद थप गरी थप अनुसन्धानका लागि हिरासतमा राखेका छौं ।’

शिक्षक पहरीले आफ्नै विद्यालयको कक्षा ५ मा अध्ययनरत ९ वर्षका दुई जना छात्रालाई पटक–पटक यौन दुर्व्यवहार र करणी गरेको जाहेरीमा खुलाइको छ । शिक्षक पहरीले केही महिनादेखि ती दुवै छात्रालाई खाजा खाने समय तथा कक्षाकोठामा अरु विद्यार्थीलाई गृहकार्य गर्न लगाई अन्तिम बेञ्चमा आफूबीचमा बसेर उनीहरुलाई दुर्व्यवहार गर्ने गरेको जाहेरीमा उल्लेख छ ।

शिक्षक पहरीले स्कुलबाट छुटेर घर जाने समयमा दुईमध्ये एक छात्रालाई एक–अर्काले थाहा नपाउने गरी स्कुल तथा बाटोमा एकान्त ठाउँमा पारेर ललाइफकाइ बलात्कार गर्ने गरेको जाहेरीमा उल्लेख छ । राम्रो पढाउने शिक्षक भनेर आफूहरुले विश्वास गरेको पीडित एक बालिकाकी आमाले बताइन् । उनले भनिन्– ‘डेढ वर्षदेखि नै यस्तो भएको रहेछ, सरले कहीं–कसैलाई भनेमा साथीको अगाडि पिट्छु भनेर धम्क्याउँदै आएका रहेछन् ।’ शिक्षक पहरीले विद्यालयका सबै विद्यार्थीलाई आफूसँग डराउने गरी दबाबमा राखेको उनले बताइन् ।

पहरीले मङ्गलबार अन्य शिक्षक र विद्यार्थी घर गएपछि एक बालिकालाई स्कुलमै राखेर जबर्जस्ती करणी गरेको कुरा घर पुगेपछि ती बालिकाले आफ्नी आमालाई बताएपछि घटना बाहिर आएको थियो । मङ्गलबारको घटनापछि बुधबार अर्की एक बालिकाले पनि ‘मलाई पनि शङ्कर सरले त्यस्तै गर्नुहुन्छ’ भनेपछि दुवै बालिकाको तर्फबाट बिहीबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको हो । पीडित बालिकालाई हाल सुरक्षित स्थानमा राखी स्वास्थ्य परीक्षण भइरहेको प्रहरीले बताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर