newskoseli.Com

दसैंमा यात्रु बोक्ने थोत्रा गाडीमाथि कडा अनुगमन : बढी भाडा असुल्नेमाथि भैरहेछ ठाउँका ठाउँ कारबाही !

दसैंका लागि लामो दूरीका सडकमा सार्वजनिक यातायातको संख्या कम हुन थालेपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालिएको छ ।

यातायात व्यवस्था विभागले असोज २४ (बुधबार) देखि देशभर जुनसुकै सवारी जहाँसुकै जान पाउने गरी ‘रुट परमिट’ खारेज गर्ने घोषणा गरिसकेको छ । वर्ष दिनसम्म विभिन्न पेशा–व्यवसायमा संलग्न भई राजधानीलगायत ठूला सहरमा बसेका मानिस राष्ट्रिय पर्व मनाउन घर जाने तयारीमा छन् ।

घर जाने तयारी गरेका यात्रुले सवारीको टिकट नपाएपछि विभागले ‘रुट परमिट’ खारेज गर्ने निर्णय गरेको हो । ‘रुट परमिट खारेजी’ लाई ‘थन्क्याइएका थोत्रा गाडी निकालेर चलाउने अवसर’ का रुपमा व्यवसायीले दुरुपयोग गर्न खोजेको सार्वजनिक यातायात सुधार अभियानमा लागेभएका रामबहादुर थापाको जिकिर छ ।

‘नयाँ बसपार्क र पुरानो बसपार्कमा गरिएको नागरिक अनुगमनका क्रममा झ्यालमा सिसा नभएका, हेर्दै थोत्रा देखिने सवारी बसपार्कमा राखिएका छन्, ती सवारी हेर्दा लाग्छ– २० वर्ष नाघिसकेका हुन्, तर हामीलाई सवारीको कागजपत्र हेर्ने अधिकार छैन, त्यस्ता सवारीका कारण बडा दसैंको समयमा दुर्घटना नहोस् भन्ने हाम्रो चिन्ता हो’– उनले भने । दसैंको चापमा ‘रुट परमिट’ खारेजी मात्र नभई ट्राफिक प्रहरीले सवारीको अवस्थाका बारेमा पनि खासै ध्यान दिँदैनन् । सवारी मर्मत तथा सम्भार केन्द्र समेत नभएकाले ती सवारी गुड्न लायक हुन कि होइनन् भन्ने पनि थाहा पाउन सकिँदैन ।

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्याय भने नियमित अनुगमन भइरहेकाले पुराना सवारी निकालिएका भए नियन्त्रणमा लिर्इ कारबाही गरिने बताए । विभागले सोमबार बिहान कोटेश्वरमा गरेको अनुगमनमा ६ रुपैयाँ भाडा तोकिएको ठाउँमा ८ सय रूपैयाँ लिने सवारीलाई कारबाही गरेको छ । अनुगमनका क्रममा बढी लिइएको पाइएको भाडा फिर्ता गराइएको जानकारी उनले दिए ।

बिहानी अनुगमनका क्रममा बीपी राजमार्ग भएर पूर्व जाने सवारी स्थलगतरुपमै कारबाहीमा परेका छन् । बढी टिकट काट्ने काउन्टरलाई पनि कारबाहीको दायरामा ल्याउने तयारी भएको विभागले जनाएको छ । यो मार्गमा चल्ने माइक्रोबसले बढी भाडा असुलिरहेको यात्रुको गुनासो छ ।

बसपार्कमा पुराना सवारी निकालेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखामा पनि आएकाले नयाँ बसपार्क र पुरानो बसपार्कमा सतर्कता अपनाउन निर्देशन दिइएको जानकारी सहप्रवक्ता दिपेश दाहालले दिए । चाडबाडमा हुने गरेका दुर्घटनामा पुरानो सवारीका कारण हुनेको सङ्ख्या बढी नै रहेको यसअघि गठन भएको कार्यदल एवं जाँचबुझ समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

दसैंका अवसरमा प्रत्येक वर्ष २५ लाखभन्दा बढी यात्रु उपत्यका बाहिर जाने गर्छन् । घटस्थापनादेखि नै उपत्यका बाहिरिने सवारीको सङ्ख्या बढ्ने गरेको महाशाखाले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर