newskoseli.Com

भक्तपुरमा भेंडा–च्याङ्ग्रा अहिलेसम्मकै महँगो ! तयारी मासु प्रतिकिलो १६ सय…

भक्तपुर, २५ असोज ।दसैंका लागि मुस्ताङबाट ल्याइएका भेंडा–च्याङ्ग्रा यस वर्ष विगतका वर्षभन्दा महँगिँदै भक्तपुर आइपुगेका छन् । सल्लाघारी ल्याइएका भेंडा–च्याङ्ग्रा सर्वाधिक अहिलेसम्मकै महँगो मूल्य निर्धारण गर्दै बिक्री सुरु भएको छ ।

सल्लाघारीमा व्यवसायीले यस वर्ष च्याङ्ग्रा प्रतिकिलो ७ सय ५० र भेंडा प्रतिकिलो ६ सय ७५ रुपैयाँ मूल्य निर्धारण गरेर बिक्री गर्न सुरु गरेका हुन् । दुवैमा यस वर्ष गत वर्षभन्दा प्रतिकिलो सय रुपैयाँ मूल्य बढाइएको छ ।

मुस्ताङमै भेंडा–च्याङ्ग्रा महँगो हुनुका साथै यस वर्ष प्रदेश सरकार र स्थानीय सरकार गरी ७ ठाउँमा निकासी कर तिर्दै ल्याउनु परेकाले महँगो भएको व्यवसायी पशुपति सिलवालले बताए । विगत १८ वर्षदेखि दसैंमा भेंडा–च्याङ्ग्राको व्यवसाय गर्दै आएका उनले भने– ‘देश सङ्घीयतामा गएपछि त आफ्नै देशमा पनि विदेशमा झैं फरक–फरक ठाउँमा कर तिर्दै आउनुपर्‍यो, यस वर्ष प्रदेश र स्थानीय सरकारलाई मात्रै ७ ठाउँमा कर तिर्नु पर्‍यो अनि कसरी होस् त सस्तो !”

व्यवसायीका अनुसार मुस्ताङबाट म्याग्दी, पर्वत, कास्की, तनहुँ, धादिङ, काठमाडौं हुँदै भक्तपुरको सल्लाघारीसम्म भेंडा र च्याङ्ग्रा ल्याउँदा कर तिर्दै आउनु पर्‍यो । केन्द्रीय सरकारले खसी–बोका, भेंडा–च्याङ्ग्रामा कर नलिन आग्रह गरे पनि स्थानीय सरकारले अटेर गरेपछि त्यसको प्रत्यक्ष मारमा भने आम सर्वसाधरण पर्ने भएका हुन् ।

मुस्ताङको घारमै एउटा च्याङ्ग्राको १६ देखि २४ हजार रुपैयाँसम्म तिर्नुपरेको बताउँदै अर्का व्यापारी सिन्धुपाल्चोकका रमेश खड्काले भने– ‘ठाउँ–ठाउँमा तिर्नुपर्ने करले यस वर्ष निकै समस्या आयो ।’ विगतका वर्षमा यसरी ठाउँ–ठाउँमा कर तिर्नुपर्ने अवस्था नभएको स्मरण गर्दै यस वर्ष भने ठाउँ–ठाउँमा कर तिर्दै ल्याउनु परेको उनले बताए ।

सल्लाघारीमा यस वर्ष करिव २ हजार च्याङ्ग्रा र करिव १ हजार भेंडा ल्याइएका छ भने अरू ल्याउने क्रम जारी छ । गतवर्ष सल्लाघारीमा च्याङ्ग्राको तयारी मासु प्रतिकिलो १ हजार २ सय ५० रूपैयाँमा बिक्री गरिएको थियो । तर, यस वर्ष भने प्रतिकिलो १ हजार ६ सय रूपैयाँमा बिक्री हुन थालेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर