newskoseli.Com

हाम्रा कर्मचारी : भैंसी बेचेर दसैं मनाउने तयारी !

जिल्ला प्राविधिक कार्यालय रामेछापका खापासटे (खानेपानी सहायक टेक्निसियन) कृष्णप्रसाद पौडेल र उनका साथी श्याम पौडेल यस वर्षको दसैं घरको भैंसी बेचेर मनाउने तरखरमा छन् ।

लामो समयदेखि कार्यालयले तलब खुवाउन नसकेपछि दूध खानका लागि गोठमा पालेको भैंसी बिक्री गर्ने निष्कर्शमा पुगेका हुन् उनीहरु । कार्यालय प्रमुखसहित ६ जनाको दरबन्दी रहेको प्राविधिक कार्यालयबाट ४ जना सरुवा भएर गएकाले उक्त कार्यालयमा हाल प्रमुख र २ जना स्टाफ मात्र रहेका छन् । ३ मध्य २ जना स्टाफले भने साउनदेखि नै तलब खान नपाएकाले दसैंको मुखमा आएर आफूहरुलाई समस्या परेको उनीहरु बताउँछन् ।

दसैंमा लाग्ने खर्च र सरसामानको मूल्यवृद्धिलगायतका कारण आफूले दसैं मान्नका लागि भैंसी किन्ने ग्राहक बोलाइसकेको कृष्ण पौडेलले न्युजकोसेलीलाई बताए । कार्यालय प्रमुख कृष्णलाल पिया भने आफूले तलब खाइसकेको बताउँछन् ।

जिल्ला प्राविधिक कार्यालय मात्र होइन डिभिजन खानेपानी कार्यालय र डिभिजन सिंचाई कार्यालयलगायतका कर्मचारीहरुले पनि अहिलेसम्म पनि तलब खान नपाएको गुनासो गरेका छन् । उनीहरुले पनि गत साउनदेखि नै तलब खान नपाएको बताएका छन् ।
डिभिजन खानेपानी कार्यालयका प्राविधिक महेन्द्र प्रधानले पनि आफूहरु अन्यायमा परेको बताए । उनले भने– ‘दसैंको मुखमा आएर कार्यालयले हामीलाई तलब समेत नखुवाएर दसैं मान्नकै लागि पनि समस्यामा पारेको छ ।’

संघीयता लागू भएसँगै सरकारले कार्यालय र कर्मचारीको उचित व्यवस्थापन गर्न नसक्दा कतिपय कायालयका कर्मचारीहरुलाई दसैंको मुखमा आएर तलब खान र दरबन्दी मिलानमा समस्या परेको सरोकारवालाहरुले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर