newskoseli.Com

बस खस्यो सुनकोशीमा : १ को मृत्यु, ७ को उद्धार, ४ को अवस्था गम्भीर

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका– ५, रिठ्ठे भीरबाट शुक्रबार बिहान यात्रुबस सुनकोशीमा खसेको छ ।

बस सडकबाट सुनकोशी नदीमा खस्दा १ जनाको मृत्यु भएको छ भने ७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका ७ मध्ये ४ जनाको स्थिति गम्भीर रहेको बताइएको छ ।

सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडौंतर्फ जाँदै गरेको सुपर बासुकी यातायातको ना ६ ख ९१२ नम्बरको बस सुनकोशीमा खसेको हो । सुनकोशी नदीबाट स्थानीयवासी र प्रहरीको प्रयासमा ७ जनालाई उद्धार गरी उपचारका लागि धुलिखेलतर्फ पठाइएको र नदीबाट एउटा शव निकालिएको जानकारी स्थानीयवासी मीन श्रेष्ठले दिएका छन् ।

सो बसमा ८ जना मात्रै सवार रहेको र ७ जनाको उद्धार गरिएको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले दिएका छन् । दुर्घटनामा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका– ८ निवासी २९ वर्षीय रवि भण्डारीको मृत्यु भएको जानकारी उनले दिए । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था सामान्य छ ।

यसैबीच, नुवाकोटमा पनि शुक्रबार नै यात्रुबाहक मिनीबस दुर्घटना हुँदा २ जनाको मृत्यु हुनुका साथै ५ जना गम्भीर घाइते भएका छन् । नुवाकोटको समुद्रटारबाट त्रिशुली जाँदै गरेको बा १ ख ६३५६ नम्बरको मिनीबस सूर्यगढी गाउँपालिका– ५, फेरिखोलामा बिहान पौने १० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा १ वृद्ध र १ महिलाको मृत्यु भएको नुवाकोट प्रहरीले बताएको छ । मृतकको सनाखत हुन सकेको छैन । २८ जना यात्रु बोक्ने क्षमताको सो मिनीबसमा ५० भन्दा बढी यात्रु सवार थिए । बस सडकबाट करिव १ सय मिटर तल खस्दा ३० जनाभन्दा बढी घाइते भएको नुवाकोट प्रहरीले बताएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर