newskoseli.Com

म्याग्दीको गुर्जा आरोहण गर्न गएका ९ मध्ये ८ को मृत्यु, १ बेपत्ता

म्याग्दीको धौलागिरि गाउँपालिका– १, गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका ९ जनामध्ये ८ जनाको शव भेटिएको छ भने १ जना अझै बेपत्ता छन् ।

गुर्जा हिमालको आधार शिविरमा पुगेका ५ जना कोरियाली नागरिक र ४ जना नेपाली टोलीमध्ये ८ जनाको शव भेटिएको हो । हिमालको आधार शिविरमा पुगेर बास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुन सक्ने धौलागिरि गाउँपालिका– १, गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

उजका अनुसार, आधार शिविरमा उनीहरुको शव अप्ठ्यारो ठाउँमा रहेकाले निकाल्न सकिएको छैन । उद्धारमा कठिनाई देखिएपछि उद्धारका लागि पुगेको हेलिकप्टर समेत फर्किएको र थप स्रोत साधन लिएर पुनः उद्धारमा जाने तयारी भएको बताइएको छ । ७ हजार १ सय ९३ मिटर उचाइको गुर्जा हिमाल आरोहणको लागि दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा असोज २१ मा ४ कोरियन र ३ जना नेपाली टोली आधार शिविरमा पुगेका थिए ।

सो टोलीलाई भेट्न २४ गते १ नेपाली र १ कोरियाली नागरिक आधार शिविरमा पुगेका थिए । आरोही टोलीलाई भेट्न गएको टोली निर्धारित समयमा नफर्किएको र सञ्चार सम्पर्क समेत विच्छेद भएपछि गुर्जाबाट खोजीको लागि गएको स्थानीयवासीको टोलीले उनीहरु मृत अवस्थामा भेटिएको पुष्टि गरेको वडाध्यक्ष छन्त्यालले जानकारी दिए ।

‘पछिल्लो टोली एक दिन मात्रै बसेर फर्कने तालिका थियो तर उनीहरु नै दुर्घटनामा पर्नुले असोज २४ गते नै घटना घटेको देखिन्छ, जब त्यो टोली फर्कन ढिलो गरेपछि आङ्शका बढ्यो, किन ढिलाइ गर्यो भनेर खोजी गर्दा शव भेटिए’– वडाध्यक्ष छन्त्यालले भन्नुभयो ।

आधार शिविरमा पर्यटकको शव भेटिएको गुर्जाका स्थानीयवासीबाट खबर आएपछि उद्धारका लागि पुगेको हेलिकप्टर आधार शिविरमा बस्न नसकेर फर्किएको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले दिए । हेलिकप्टरबाट ८ जनाको सब जस्तो देखिएको खबर आए पनि उद्धारमा कठिनाई भएकाले विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।

पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमति पाएको टोली गुर्जा हिमालको दक्षिणी मोहोडाबाट हिमाल आरोहण गर्ने गरी आधार शिविरतर्फ लागेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर