newskoseli.Com

ज्ञानेन्द्र शाहको शुभकामना : व्यवस्थाविरुद्ध आक्रोश (जस्ताको तस्तै)

पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमी– २०७५ को शुभकामना सन्देश प्रेषित गर्दै वर्तमान राजनीतिक व्यवस्थाविरुद्ध तीव्र आक्रोश पोखेका छन् ।

‘देश बन्ने–बनाइने सपना देखेका हामी नेपाली– राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीहरुका कारण देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपुगेका छौं,’ अझ बढी आक्रोश पोख्दै उनले अगाडि भनेका छन्– ‘आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदैछ भने तराई, पहाड र हिमाल माझको एेक्यभाव तोड्ने भगिरथ प्रयत्न समेत भइरहेको छ । अब समीक्षा र आत्ममूल्यांकनको घडी आएको छ ।’

यस्तो छ पूर्वराजा ज्ञानेन्द्रको शुभकामना सन्देशको पूर्णपाठ–

प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइ,

विजयादशमीको पावन अवसरमा हामी देशभित्र र देशबाहिर रहे–बसेका सम्पूर्ण नेपालीहरुमा शान्ति, सुख र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछौं ।

नेपाल राष्ट्र भन्नु नै यज्ञीय, मन्त्रीय, तन्त्रीय, वैदिक, अनुष्ठान, साधना र परम्पराले व्यष्टि रहेको छ । कोट, मौलो, खड्ग, छत्र, शिला, कलश, शक्तिपीठका प्रतीकका रुपमा रही नेपाली समाजमा देवी महात्म्यम् आराध्य छिन् । तर, पछिल्लो समय हाम्रा मौलिक धर्म, संस्कृति र चाडपर्वहरु संकटमा पर्दै जानु सबै नेपालीका लागि विषद् विषय बनेको छ ।

देश शान्त, सुखी र समृद्ध बन्ने आशामा हामीले गरेको सहमति अविभाज्य मुलुक र सद्भावपूर्ण राष्ट्रिय एकताका निम्ति थियो भन्ने तथ्य पुनः स्मरण गराउँदछु ।

देशमा शान्ति–सुव्यवस्था बन्ने, एउटा नेपाली अर्को नेपालीबाट मर्नु–मारिनु नपर्ने, आपराधिक क्रियाकलापमा न्यूनीकरण हुने, कोपिला बालबालिकाहरु समेत सुरक्षित र संरक्षित रहन सक्ने, विभिन्न आकार–प्रकारका सरकारहरुबाट जनतामाथि आर्थिक भार कम हुने, जनताको जीवन सुखमय बन्ने, राष्ट्रिय एकता र सार्वभौमिकता थप मजबुद हुने तथा असहिष्णु व्यवहार निरुत्साहित हुँदै जाने विश्वास हामीले लिएका थियौं ।

देश बन्ने–बनाइने सपना देखेका हामी नेपाली– राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीहरुका कारण देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपुगेका छौं । हरेक उपलव्धिहरु परिवर्तन हुन् तर हरेक परिवर्तनहरु उपलव्धिमूलक बन्न सक्दारहेनछन् भन्ने पुष्टि विद्यमान अवस्थाले देखाइरहेको छ ।

आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदैछ भने तराई, पहाड र हिमाल माझको एेक्यभाव तोड्ने भगिरथ प्रयत्न समेत भइरहेको छ । अब समीक्षा र आत्ममूल्यांकनको घडी आएको छ । आफैंलाई साक्षी राखेर देश र देशवासीका पक्षमा केही गर्ने प्रण गरौं ।

श्री नवदुर्गा भवानीले सबै नेपालीमा सत्प्रेरणा प्रदान गरुन्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पुनर्जागरण होस्, यही मेरो कामना छ । जय नेपाल ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर