newskoseli.Com

प्रवक्ता नारायणकाजीको राजीनामा अस्वीकृत : के–के निर्णय गर्‍यो नेकपा सचिवालय बैठकले ?

प्रवक्ता नारायणकाजी श्रेष्ठले यसअघि दिएको राजीनामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठकले अस्वीकृत गरेको छ । श्रेष्ठले तीन महिनाअघि दिएको राजीनामा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अस्वीकृत गरेको हो ।

बैठकका निर्णयबारे जानकारी दिंँदै प्रवक्ता श्रेष्ठले भने– ‘सचिवालयको बैठकले केन्द्रीय प्रवक्ताले पदबाट दिएको राजीनामा अस्वीकार गरेको छ ।’ प्रा.डा. गोविन्द केसी अनशन प्रकरणमा अध्यक्षसँग विवाद भएको जनाउँदै प्रवक्ता श्रेष्ठले राजीनामा दिएका थिए ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको असहमतिपत्रबारे पनि गम्भीर छलफल भएको छ । नेता नेपालले यस अघिको सचिवालय बैठकका निर्णयप्रति असहमति जनाउँदै पत्र दर्ता गराएका थिए । नेपाल र अन्य नेताले उठाएको विधि, प्रक्रिया, पद्धतिलगायतका विषयलाई ध्यान दिँदै अगाडि बढ्ने र यस अघिका निर्णय भने यथावत् रहने निर्णय भएको जानकारी प्रवक्ता श्रेष्ठले दिए ।

प्रदेश कमिटीहरूका इन्चार्ज–सहइन्चार्ज, अध्यक्ष र सचिव तोक्ने सचिवालयको निर्णय विधि र प्रक्रियाअनुसार नभएको भन्दै नेपालले असन्तुष्टि पत्र दर्ज गरेका थिए ।

बाँकी कार्यसूचीमाथि छलफल गर्न कात्तिक ७ गते अपराह्न ३ बजे सचिवालयको अर्को बैठक बस्नेछ । प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको एकीकरण तथा जनवर्गीय सङ्गठनका केन्द्रीय कमिटीको एकीकरण, पार्टी, संसद्, सरकार सञ्चालनलगायत विषयमा निर्धारित कार्यसूचीमाथि बुधबार बस्ने अर्को बैठकदेखि छलफल प्रारम्भ हुने जानकारी प्रवक्ता श्रेष्ठले दिए ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच जेठ ३ मा भएको एकतापछि तीन महिनाभित्र तल्लो तहसम्मको एकतालाई पूर्णता दिने बताइएको थियो । त्यो तीन महिना पूरा भएर थप दुई महिना बितिसक्दा समेत एकता प्रक्रियाले पूर्णता पाएको छैन ।

कात्तिक १२ र १३ मा बस्ने स्थायी कमिटीको बैठकको कार्यसूचीका विषयमा पनि बुधबार बस्ने बैठकमा छलफल हुने भएको छ । यसअघि आइतबार बसेको सचिवालयको बैठकले संसद सदस्य पदबाट रामवीर मानन्धरले राजीनामा दिनु नपर्ने निर्णय गरेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर