काठमाडौं उपत्यकामा दसैंको समयमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार घटस्थापनादेखि पूर्णिमासम्म उपत्यकाका विभिन्न स्थानमा भएका दुर्घटनामा चालक तथा पैदलयात्रुको मृत्यु भएको हो ।
तीव्र गतिमा जथाभावी सवारी साधन चलाएका कारण धेरै दुर्घटना भएको जानकारी महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले दिए । ‘दसैंको समयमा सडक धेरै खाली हुने र तीव्र गतिमा सवारी हाँक्ने प्रवृत्तिले धेरै दुर्घटना हुने गरेको छ’– उनले भने ।
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन महाशाखाले दसैंअगाडि ‘ट्राफिक र्यापिड स्क्वायड’ अभियान समेत सञ्चालनमा ल्याएको थियो । अभियानले दुर्घटना भएको ५ मिनेटभित्रै घटनास्थलमा पुगेर घटनाका बारेमा अध्ययन गर्नुका साथै घाइतेलाई तत्काल अस्पतालसम्म लैजान सकिने व्यवस्था गरेको थियो ।
महाशाखाले यस अभियानका लागि ५५ वटा मोटरसाइकलमा ट्राफिक प्रहरी र जनपद प्रहरी परिचालन गरेको थियो । हाल देशभर झन्डै ३२ लाख हाराहारीमा सवारी साधन सञ्चालनमा छन् भने काठमाडौं उपत्यकामा मात्र ८ लाख सवारी साधन सञ्चालनमा रहेको राससले जनाएको छ ।