काठमाडौंको बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको मूलगेट नजिकै ढलमा खसेर शनिबार बिहान एक जनाको मृत्यु भएको छ ।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार काठमाडौं महानगरपालिका– १५, चागलका श्याम श्रेष्ठको मृत्यु भएको हो । बिहान साइकलमा सवार श्रेष्ठ खाल्डोमा खसेपछि निस्कन नसकी त्यहीं निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा भेटिएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब निरीक्षक बलराम झाले जानकारी दिएका छन् ।
‘उक्त स्थानमा महिनौंदेखि ढलको छोप्ने भाग खुला रहँदै आएको थियो । बिहानै अँध्यारोमा साइकल लिएर हिँड्दा श्रेष्ठ खाल्डोमा खसेको हुनुपर्छ’– उनले भनेको राससले जनाएको छ ।