newskoseli.Com

प्रधानमन्त्री ओली अस्पताल भर्ना : छातीमा संक्रमण र सुगर ‘असन्तुलित’, केही दिन अस्पतालमै उपचार हुने

केही दिनदेखि बिरामी रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वस्थ भैसकेको खबर आइरहँदा सोमबार बिहान अकस्मत उनी अस्पताल भर्ना भएका छन् ।

रुघा–खोकी बढ्नुका साथै ‘सुगर रिलेटेड इन्फेक्सन’ देखिएपछि प्रधानमन्त्री ओलीलाई बिहान साढे चार बजे अस्पताल भर्ना गरिएको हो । प्रधानमन्त्री ओलीको छातीमा संक्रमण देखिनुका साथै शरीरमा चिनीको मात्र ‘असन्तुलित’ भएपछि उनलाई अस्पतालमै भर्ना गर्नु परेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हातामा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरले सोमबार बिहान पत्रकार सम्मेलन गर्दै ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जानकारी अस्पतालले दिएको छ ।

‘मृगौला ट्रान्स्प्लान्ट’ गरिएका कारण संक्रमण नहोस् भनेर सीसीयूभित्र ‘आइसोलेटेड’ कोठामा राखेर प्रधानमन्त्रीको उपचार भइरहेको छ । अस्पतालका अनुसार कार्डिओलोजिस्ट डा. अरुण सायमी नेतृत्वको चुस्त टिमले प्रधानमन्त्रीको उपचार गरिरहेको छ । टिममा प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिब्या सिंह र अर्का चिकित्सक डा. सन्त दास मात्रै रहेका छन् ।

दसैं सकिएसँगै प्रधानमन्त्री ओलीलाई रुघा–खोकीको समस्या देखिएको थियो र शुक्रबार समस्या अझ बढेको थियो । शुक्रबार साँझदेखि ज्वरो समेत देखिएको थियो । आइतबार बसेको मन्त्रिपरिषदको बैठकपछि खोकी बढ्नुका साथै सुगरको मात्रा समेत बढेको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई तत्कालै विदेश लानुपर्ने अवस्था नरहेको बताउँदै केही दिन अस्पतालमा राखेर उपचार गरेपछि डिस्चार्ज गर्न सकिने जानकारी अस्पतालले दिएको छ । ‘समय–समयमा ‘इन्सुलिन’ दिएर चेक गर्नुपर्ने हुन्छ, यहाँ एन्टोबायोटिक दिन सजिलो हुने भएकाले घरमा राखेर उपचार गर्नुभन्दा एन्टिबायोटिकको डोज पुर्‍याएर एक–दुई दिनमा डिस्चार्ज गर्ने सोचेका छौं’– उपचारमा संलग्न चिकित्सकले भने ।

प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य स्थितिको जानकारी लिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका थिए । नेताहरू माधवकुमार नेपाल, भीमबहादुर रावल, लालबाबु पण्डित, निरु पाललगायतले पनि अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्यस्थितिको जानकारी लिइसकेका छन् । भेटिसकेपछि सबैले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ‘सामान्य नै रहेको’ बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर