newskoseli.Com

७ दिने आवासीय प्रशिक्षणमा वैद्य माओवादी : प्रशिक्षकहरुलाई ‘उच्चस्तरीय’ प्रशिक्षण दिइँदै

 

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले ले ७ दिने आवासीय ‘प्रशिक्षक प्रशिक्षण’ सुरु गरेको छ ।

सो पार्टीको केन्द्रीय स्कुलिङ विभागको आयोजनामा राजधानीमा आइतबार पार्टी महासचिव मोहन वैद्य ‘किरण’ द्वारा कार्यक्रमको उदघाटन गरियो । कार्यक्रम कात्तिक ११ देखि १७ सम्म आवासीय रुपमा चल्ने बताइएको छ ।

उदघाटन मन्तव्यका क्रममा महासचिव वैद्यले प्रशिक्षक प्रशिक्षणको ठूलो र दीर्घकालीन महत्त्व रहेको भन्दै विश्वमा कम्युनिज्म समाप्त भएको भ्रम पार्ने प्रयार भइरहेको बताए । नेपालमा ‘नामधारी कम्युनिस्टहरु’ बहुमतको जनादेशसहित सरकारमा पुगेर पनि केही गर्न नसकिरहेकाले अर्को भ्रम थपिइरहेको उनले बताए ।

प्रशिक्षण मुख्यतः विचारधारात्मक पक्षमा आधारित भएकाले ‘आइडियोलोजी’ लाई प्रशिक्षणमार्फत् ‘हेडोलोजी’ मा रुपातन्तरण गरिने कुरामा जोड दिँदै महासचिव किरणले यो प्रशिक्षण कार्यक्रम वर्ग र वर्गीय कुरामा आधारित रहेको प्रष्ट्याए । विचारधाराका हिसाबले नेपालमा हालसम्म पूरातनपन्थी, प्रतिक्रियावादी र पुँजीवादी स्कुलिङ अस्तित्वमा रहेको उनले चर्चा गरे।

अहिले ती प्रवृत्तिहरू क्रमशः किनारा लाग्दै पनि गइरहेको बताउँदै महासचिव वैद्यले जनताका माझमा रहेका कम्युनिस्ट भन्नेहरुमा पनि विभिन्न असंगतिपूर्ण स्कुलिङहरु रहेको बताए । प्रतिक्रियावादमा परिणत भएका घोर दक्षिणपन्थीहरु ओली–दाहालको नेकपा स्कुलिङमा, क्रान्तिका कुरा गर्ने तर क्रान्ति कहिल्यै नगर्ने मध्यपन्थीहरु मोहनविक्रम मसालको स्कुलिङमा र मार्क्सवाद नै पुरानो भयो भनेर मार्क्सवादी सारतत्त्वमाथि हमला गर्दै नयाँ जलप दिन खोज्ने नव वा उत्तरमार्क्सवादीहरु रमेश सुनुवारहरुको स्कुलिङमा रहेको उनले बताए ।

रुपमा कम्युनिस्ट पार्टीको क्लास दिने तर वर्गीय पार्टी एवं वर्गीय पक्षधरता सिद्धियो भन्दै मार्क्सवादी सारतत्त्वमाथि नै हमला गर्ने र भ्रष्टीकरण गर्नेहरुको उनले कटाक्ष गरे । कम्युनिस्ट स्कुलिङ भनेको नेकपा (क्रान्तिकारी माओवादी) को स्कुलिङ नै भएको दावी गर्दै महासचिव वैद्यले क्रान्तिकारीहरुमा पनि मुखले भन्दा कम्युनिस्ट हौं भन्ने तर अध्ययन नगर्ने समस्या रहेकामा दुःखेसो पोखे ।

यस प्रशिक्षणको मुख्य उद्देश्य मार्क्सवादका तीन मुख्य संघटक अंगहरु– दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा आजको नेपालको सन्दर्भमा क्रान्तिकारीहरुलाई चाहिएका र खोजिएका कुराहरु के–के छन्, तिनका बारेमा अध्ययन र अनुसन्धान गर्नु नै रहेको उनले प्रष्ट्याए ।

प्रशिक्षक प्रशिक्षणका लागि देशका सात वटै प्रदेशहरुबाट ३० जनालाई केन्द्रीय प्रशिक्षार्थीहरुका रुपमा छनोट गरिएको र त्यसमा पार्टीका केन्द्रीय समिति सदस्य तथा जिल्ला पार्टीका सेक्रेटरीहरु रहेको केन्द्रीय स्कुलिङ विभागका अध्यक्ष परि थापाले बताए । यो प्रशिक्षण नियमित स्कुलिङ नभर्इ देशभर स्कुलिङ र प्रशिक्षणका लागि प्रशिक्षकहरु तयार पार्ने ध्येयका साथ आयोजना गरिएको कार्यक्रममा बताइयो ।

कार्यक्रमले जहाँ पनि र जहिले पनि जान सक्ने गरी तयारी हालतमा रहने दक्ष र योग्य प्रशिक्षकहरु तयार पार्ने अपेक्षा सो पार्टीका नेता–कार्यकर्ताहरुले गरेका छन् । ‘साउन्ड हेल्थ, साउन्ड माइन्ड’ भने झैं वैचारिक र भौतिक दुवै रुपमा प्रशिक्षणको सोच बनाइए पनि हालका लागि यो वैचारिक रुपमा अलि बढी केन्द्रित गरिएको नेता थापाले बताए ।

क्रान्तिकारीहरुलाई वैचारिक तथा भौतिक दुवै रुपमा प्रतिक्रियावादीहरुले चारैतिरबाट आक्रमण गरिरहेकाले त्यसको प्रतिरोधका लागि गरिइरहेका तयारीहरुमध्ये यो सबैभन्दा ठूलो वैचारिक तयारी रहेको बताउँदै नेता थापालले क्रान्तिकारीहरु प्रतिक्रियावादीहरुभन्दा श्रेष्ठ बन्नुपर्ने आवश्यकतामा जोड दिए ।

कार्यक्रमका उद्घोषक एवं केन्द्रीय स्कुलिङ विभागका सदस्य हस्तबहादुर केसीले स्कुलिङलाई व्यवस्थित पार्न र विचारअनुसार बुझाइमा एकरुपता ल्याउन यो प्रशिक्षण चलाइएको बताए । पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन अभियानको अन्त्य हुन लाग्दाको अवस्थासँगै यसलाई जोडेर आयोजना गरिएको कुरामा केसीले जोड दिए ।

महासचिव वैद्य, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, स्थायी समितिका सदस्य रामसिंह श्रीस, केन्द्रीय स्कुलिङ विभागका अध्यक्ष थापा, पोलिटब्युरो सदस्यहरु सीताराम तामाङ र इन्द्रमोहन सिग्देल ‘वसन्त’, सल्लाहकार ओम गुरुङ, बुद्धिजीवी संगठनका अध्यक्ष हुकुमबहादुर सिंह, प्राध्यापक जगदीशचन्द्र भण्डारीलगायतको सहभागितामा उद्घाटन कार्यक्रम सम्पन्न भयो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर