प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा ‘उल्लेख्य सुधार’ आएको छ ।
प्रधानमन्त्री ओलीले मंगलबार बिहान सजिलैसँग खाजा खाएको र स्वास्थ्यमा उल्लेख्य सुधार आइरहेको जानकारी उनको उपचारमा संलग्न प्रा.डा. अरुण सायमीले दिए ।
उपचारका क्रममा रगत परीक्षणको रिपोर्टअनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा निकै सुधार आएको सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले जानकारी दिएका छन् । आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन आएका शुभेच्छुकसँग प्रधानमन्त्री ओलीले सजिलैसँग दोहोरो कुराकानी गरेको समेत कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
छातीमा संक्रमण भई श्वासप्रश्वासमा समस्या देखिएपछि प्रधानमन्त्री ओली सोमबार बिहान महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । डा. सायमीको संयोजकत्वमा प्रा.डा. दिव्यासिंह शाह तथा डा. सन्तकुमार दास रहेको टोली प्रधानमन्त्रीको उपचारमा संलग्न छ