newskoseli.Com

१६ लाखका ‘रिचार्ज कार्ड’ चोरीको आरोपमा रोका पक्राउ

नेपाल टेलिकमको लाखौं मूल्यका ‘रिचार्ज कार्ड’ चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले एक व्यक्तिलाई पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको छ ।

माडी गाउँपालिका– १, रोल्पाका २१ वर्षीय दलबहादुर रोकालाई प्रहरीले पत्रकार सम्मेलन गरेर ‘रिचार्ज कार्ड’ सहित सार्वजनिक गरेको हो । रोकासँग ५० रूपैयाँ दरका १५ हजार २ सय थान, १ सय रूपैयाँ दरका २१ हजार थान र ५ सय रूपैयाँ दरका ७ सय २० थान जम्मा ३६ हजार ९ सय २० वटा रिचार्ज कार्ड बरामद गरिएको प्रहरी प्रमुख कृष्णहरि शर्माले जानकारी दिए ।

उक्त रिचार्ड कार्डको मूल्य १६ लाख १० हजार रूपैयाँ रहेको उनले बताए । रोकाले ती कार्ड चोरेर रोल्पाको थवाङ गाउँपालिका– २ का विभिन्न ठाउँमा बेचबिखन गरिरहेको सूचना पाएपछि यहाँबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउपछि अनुसन्धान गर्दा थप कार्ड प्युठान स्वर्गद्वारी नगरपालिका– ७ स्थित ससुराली घरमा लुकाएको ठाउँबाट बरामद गरिएको प्रहरीले जनाएको छ । घोराहीका एक व्यवसायीले असोज २३ मा १७ लाख मूल्य बराबरको ‘रिचार्ज कार्ड’ चोरी भएको भन्दै प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गराएका थिए ।

रोकालाई रोल्पा र प्युठान प्रहरीको सहयोगमा पक्राउ गरिएको हो । रोकाविरुद्ध चोरी मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर