बारबर्दिया नगरपालिका– १०, बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई ‘निको पारिदिन्छु’ भन्दै घरमै आएर पटक–पटक बलात्कार गरेका छन् ।
गुरुबा (धामीझाँक्री) भनिएका सुब्बाले उपचारका नाममा माघदेखि नै बलात्कार गर्ने गरेको पीडित महिलाले बताइन् । पीडित महिलाका अनुसार सुब्बा थारुले राति फोन गरेर यौन सम्बन्ध राख्न दिए झारफुक गरेर निको गराइदिने भन्दै पटक–पटक बलात्कार गर्ने गरेका थिए ।
गुरुबाले झारफुक गरेर निको भइहाल्छ कि भनेर सुरु–सुरूमा भएको यौन दुव्र्यवहार र अलि पछिदेखि बलात्कार पनि सहेर बसेको पीडित महिलाको भनाइ छ । उनले भनिन्– ‘रोग निको भइहाल्छ कि भनेर गुरुवनुराले आफूमाथि गरेको बलात्कारको घटना बाहिर कसैलाई भनेकी थिइँन । तर, मनमा अति पीडा भएपछि न्याय खोज्दै प्रहरीमा गएकी हुँ ।’
आफूलाई बलात्कार गर्ने सुब्बा थारुविरुद्ध बलात्कार गरेको आरोपमा पीडितले कात्तिक १६ मा इलाका प्रहरी कार्यालय बाँसगढीमा जाहेरी दिएकी छन् । पीडितले जाहेरी दिएको स्वीकार गर्दै अनुसन्धान गरी जाहेरी दर्ता गरेर कानुनी कारबाही अगाडि बढाउने तयारी भैरहेको इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक वसन्त गौतमले बताए ।
निरीक्षक गौतमका अनुसार घटनाका आरोपित सुब्बा थारुलाई कात्तिक १६ मा नै पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिइएको छ । बलात्कार सहेर झारफुक गराइरहँदा पनि रोग ठीक हुनुको सट्टा दिनानुदिन झन् बढ्दै गएर आफू थला नै पर्न थालेपछि भने पीडितले चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गराएर क्यान्सर भएको प्रमाणित भएपछि सोहीअनुसार उपचार गराइरहेकी छन् ।
पीडित महिलाको श्रीमान् वैदेशिक रोजगारीमा गएका छन् भने दुई छोरा पनि कमाउन घरबाहिर जाने गरेको राससले जनाएको छ ।