newskoseli.Com

देउवाको दलिल : ‘पार्टीलाई एकढिक्का बनाइसकेपछि मात्रै विश्राम लिन्छु’

गत वर्ष सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नराम्रो पराजय भोगेपछि नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग तीव्र भैरहेका बेला सो पार्टीका सभापति शेरबहादुर देउवाले भने आगामी महाधिवेशनबाट समेत पार्टीको नेतृत्व नछाड्ने जिकिर गरेका छन् ।

संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट नेपाली काङ्ग्रेस पार्टीको सिद्धान्त विजयी भएको जिकिर समेत सभापति देउवाले गरेका छन् । दसैं, तिहार, छठ तथा नेपाल संबतको उपलक्ष्यमा शुभकामना आदान–प्रदान गर्न काङ्ग्रेस काठमाडौं महानगरपालिका– ४ कार्यसमितिले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा देउवाले यस्तो धारणा राखेका हुन् ।

तीन तहको निर्वाचनमा काङ्ग्रेसले अपेक्षित मतपरिणाम ल्याउन नसके पनि अर्को निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउनका लागि आफू निरन्तर लागिरहने र पार्टीलाई एकढिक्का बनाइसकेपछि मात्र विश्राम लिने उनले बताए । अहिले देश अप्ठ्यारो अवस्थामा रहेको चर्चा गर्दै मुलुकमा बलात्कार तथा हिंसाजन्य अपराध धेरै बढेको र सरकारले पीडितलाई न्याय दिन नसकेको उनले उल्लेख गरे ।

सोही कार्यक्रममा बोल्दै काङ्ग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले काङ्ग्रेस एकढिक्का भई निर्वाचनमा गएमा अर्को पटक काङ्ग्रेसले जित्न सक्ने विचार व्यक्त गरे । गएको निर्वाचनमा पार्टीभित्रका गुट–उपगुटका कारण पार्टीले पराजय भोग्नुपरेको उनले बताए ।

पूर्वमन्त्री डा. प्रकाशशरण महतले काङ्ग्रेसको नेतृत्वमा नेपालमा शान्ति स्थापना भएको, संविधान जारी भएको तथा तीन तहको निर्वाचन सम्पन्न भएको दावी गरे । अर्का पूर्वमन्त्री नरहरि आचार्यले लोकतन्त्रमा सत्तापक्षका साथै प्रतिपक्षको पनि उत्तिकै भूमिका रहने विचार व्यक्त गरे ।

काङ्ग्रेस काठमाडौं जिल्ला अध्यक्ष सबुज बानियाँ, नेपाल महिला सङ्घ काठमाडौंकी क्षेत्रीय सभापति भवानी केसी, प्रदेशसभा सदस्य नारायण सिलवाललगायतका वक्ताले पनि कार्यक्रममा आ–आफ्ना धारणा राखे । समारोहको सभापतित्व काङ्ग्रेस वडा नं ४ कार्यसमितिका अध्यक्ष रामप्रसाद न्यौपानेले गरेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर